लमजुङको पसगाउँमा पर्यटन प्रवर्द्धन गर्न शनिबारदेखि १४ औं पसगाउँ महोत्सव सुरु भएको छ ।
क्व्होलासोथार गाउँपालिका ६ मा पर्ने पसगाउँको महोत्सव गाउँमाथिको गन्तव्य क्होम्रे डाँडामा उद्घाटन गरिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पसगाउँलाई थप चिनाउन आयोजित १४ औं पसगाउँ महोत्सवको प्रतिनिधिसभा सदस्य एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । उनले आफू मन्त्री र मुख्यमन्त्री हुँदा होमस्टे प्रवर्द्धन कार्यक्रम ल्याएर ग्रामीण पर्यटनको विकास गरेको दाबी गरे ।
‘हामस्टेले ग्रामीण अर्थतन्त्र चलायमान बनाएको छ । रोजगारीको अवसर सिर्जना गरेको छ । स्थानीय कला र संस्कृतिको संरक्षण गरेको छ । यो होमस्टे ग्रामीण अर्थतन्त्रको दीर्घकालीन स्रोत हो,’ उनले भने ।
उनले वर्तमान सरकारले अर्थतन्त्रलाई डामाडोल बनाएको, जनताका दैनिक सरोकारका विषयसँग सरोकार नराखेको, सत्तामा टिकिरहनेमात्रै चिन्तन गरेको, विकासका नयाँ योजना ल्याउन नसकेको, सुरु गरिएका विकास योजनालाई अलपत्र पारेकोलगायत आरोप लगाए ।
कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान घले, नेपाल पर्यटन बोर्ड, पोखराका प्रमुख नवीन पोखरेल, उद्योग तथा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बोबरजङ गुरुङ लगायतले बोलेका थिए ।

क्व्होलासोथार ६ का वडाध्यक्ष मनलाल गुरुङका अनुसार २०६० वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो । ‘तत्कालीन सशस्त्र द्वन्द्व र पछिल्लो समय कोभिड-१९ का कारण महोत्सव नियमित हुन सकेन । पछिल्लो समय हामी मेला महोत्सवको आयोजना गरी गाउँको पर्यटन प्रवर्द्धनमा हामी जुटेका छौं,’ उनले भने ।

पसगाउँ सामुदायिक होमस्टेका नवनिर्वाचित अध्यक्ष एवं क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार महोत्सवमा स्थानीय हस्तकला, गुरुङ जातिको कला संस्कृति र भेषभूषा, स्थानीय खानालगायतको प्रदर्शन गरिएका छन् । ‘हामी महोत्सवको माध्यमबाट ग्रामीण पर्यटन विकास गर्न चाहन्छौं, ग्रामीण अर्थतन्त्रको विकास गर्न चाहन्छौं,’ उनले भने ।

कूल १ सय ४५ घरधुरी रहेको पसगाउँमा ११ घरधुरी भुजेल र १२ घर दलित समुदायका छन् । समुद्री सतहदेखि करिब १ हजार ६ सय ५० मिटर उचाइमा रहेको पसगाउँमा पर्यटकका लागि २१ घरमा होमस्टे स्थापना गरिएका छन् । ढुंगाले छाएका घरहरु प्रमुख विशेषताको रुपमा रहेको पसगाउँमा पछिल्लो समय गाउँ माथिको क्होम्रे डाँडालाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले शौचालय, खानेपानी तथा बिजुली बत्तिको व्यवस्था सहितको पिकनिक स्पटको निर्माण गरिएको होमस्टेका सचिव रतनसिंह गुरुङले बताए ।
महोत्सवमा कलाकार गोरे गुरुङ, माया गुरुङ, सविना गुरुङ, टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ, संगीता गुरुङ, राजबहादुर गुरुङ, प्रिया गुरुङ, अनुज अधिकारीलगायत कलाकारको प्रस्तुति रहेको छ । महोत्सवमा युवा क्लव, आमा समूहका नाच, कृष्ण चरित्र, घाँटु, सारंगीलगायत पौराणिक नृत्यहरु प्रदर्शन गरिएका छन् ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो