पोखरा । रुसी राष्ट्रपतिको निर्वाचनमा पोखरामा रहेका रुसी नागरिकले पोखराबाट मतदान गरेका छन् । पोखरा र आसपासमा रहेका रुसी नागरिकले होटल वाराहीमा रहेको मतदान केन्द्रमा शुक्रबार मतदान गरेका हुन् ।
मतदानपछि रुसी नागरिक दिदेन्को सर्जेले पोखराबाटै देशको भविष्यको अगुवाइ गर्ने नेतृत्व चुन्न पाएको भन्दै खुसी व्यक्त गरे । “पोखराबाटै मत हाल्न पाएँ, देशको भविष्य निर्क्योल गर्ने अवसर पाएकोमा खुसी छु,” उनले भने ।
मतदान १२ बजे सकिएकाे छ । रसियन न्यूज एजेन्सी तासका अनुसार एक सय ४४ देशमा दुई सय ८८ मतदान केन्द्र राखिएका छन् ।
सेन्ट्रल इलेक्सन ब्युरोका अनुसार रुसमा ११ करोड २३ लाख र विदेशमा करिब २० लाख मतदाता छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं पटक राष्ट्रपति बन्ने दौडमा छन् । रुसी राष्ट्रपतिका लागि मुख्य मतदान १५ देखि १७ तारिखमा हुने भए पनि प्रारम्भिक र पोस्टल भोटिङ भने यसअघि नै सुरु भइसकेको छ ।
रुस राजदूतावासमा एटासे अलेक्जेन्टर इभासोभले पोखराको मतदान केन्द्रमा करिब एक सय र काठमाडौंको मतदान केन्द्रमा करिब तीन सयले मतदान गर्ने अपेक्षा सुनाए । काठमाडौंमा भने मतदान आइतबार हुनेछ ।
छ वर्षे कार्यकालका लागि रुसी राष्ट्रपतिको चुनावमा रुस, रुसी नियन्त्रणको युक्रेनसहित विश्वभरिका रुसी नागरिकले यसका लागि मतदान गर्दैछन् । निर्वाचनबाट वर्तमान राष्ट्रपति पुटिन नै चुनिने प्रबल सम्भावना रहेको बताइन्छ । ७१ वर्षीय पुटिन सन् १९९९ बाट निरन्तर शक्तिमा छन् ।
चुनावमा कम्युनिष्ट पार्टीबाट निकोली खालिनोनोभ मैदानमा छन् । निर्वाचनमा लियोनिड स्लुटस्की र भ्लास्लिभ दाभान्कोभ पनि उम्मेदवार छन् । चर्चित युद्धविरोधी नेता एलेक्सी नाभाल्नीको एक महिनाअघि जेलमै मृत्यु भइसकेको छ । अघिल्ला चुनावमा युद्धविरोधी उम्मेदवार बोरिस नादेहदिनलाई केन्द्रीय निर्वाचन ब्युरोले उम्मेदवारी दिन रोक लगाएको छ । अरु प्रभावशाली उम्मेदवार मैदानमा नहुँदा पुटिनको विजय हुने प्रबल सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु