स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु(छोरी)लाई स्याङ्जा अस्पतालमा राखिएको छ । ५० दिन पुगेकी शिशुलाई वैकल्पिक अभिभावकको खोजीसहित जिल्ला अस्पतालमा राखिएको हो ।
चापाकोट नगरपालिका -९ कर्लुङ जाने बाटोको खेतको डिलमा गत चैत ७ गते सालनालसहित शिशु(छोरी)लाई स्थानीयले बेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेर जिवितै उद्दार गरि पोखरा गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो । अनुहार र शरीरका केही भागमा चोटसहित कमिलाले घेरिएको र टोकेको अवस्थामा भेटीएकी शिशुलाई नगरपालिकाको पहलमा पोखरामा उपचार गरि स्वास्थ्य सुधार भएपछी स्याङ्जा जिल्ला अस्पतालमा ल्याइएको हो ।
स्याङ्जा जिल्ला अस्पतालमा ल्याइसकेपछी ती शिशुलाई दिन होस् वा रात डिउटीमा खटिने अस्पतालका कर्मचारीले आवश्यक रेखदेख, खाना(ल्याक्टोजीन) खुवाउने, कपडा फेर्ने लगाउने, स्वास्थ्योपचार गर्ने गरेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् । उनले दिन गनेर हुर्कँदै गरेकी ती शिशुको अस्पतालमै विशेषतः नर्स तथा महिला कर्मचारीले आवश्यक स्याहारसुसार तथा स्वास्थ्योपचार गरिरहेको र स्वास्थ्य अवस्था पनि स्वस्थ रहेको बताइन् ।
शिशुलाई काखमा च्यापेर डिउटी बाहेकको समयमा काख काखमा राखेर खेलाउने तथा भुलाउने गर्दै आएको बताउँदै अस्पतालकी सिनियर अनमी अप्सरा भण्डारीले, `यिनी त हाम्रै परिवारकी एक सदस्य बनिसकेकी छन्, निकै माया लाग्छ! सबैले माया र रेखेदेख गर्नुहुन्छ´ भनिन् ।
यसैबीचमा, चापाकोट नगरपालिकाले हकदाबीका लागि शिशुका बाबुआमा तथा आफन्तलाई आव्हान गर्दा समेत सम्पर्कमा न आएपछि वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आव्हान गरेको जनाएको छ । नगरप्रमुख देव बहादुर खाँण(ईश्वर)ले व्यक्ति, संस्था वा बालगृहलाई विभिन्न ९ बुँदामा समेटिएका प्रमाणसहितका कागजात र निवेदन आएमा सूचना जारी गरेको ७ दिनभित्र दिन सकिने प्रावधान राखिएको बताए ।
वैकल्पिक हेरचाहका लागि निवेदनसहित नेपाली नागरिक भएको, शैक्षिक एवं आर्थिक हैसियत खुलेको, फौजदारी अभियोग नलागेको, दम्पतीका हकमा नेपाल मेडिकल बोर्ड, वीर अस्पतालबाट सन्तान प्राप्त हुन नसक्ने भन्ने व्यहोराको प्रमाणपत्र लगायतका अन्य कागजात पनि पेश गर्नुपर्ने उल्लेख रहेको चापाकोट नगरपालिकाकी उपप्रमुख एवं स्थानीय बाल अधिकार समिति संयोजक ईशा रानाले जानकारी दिइन् । उनले गत चैत २७ गते पालिकाले जारी गरेको सूचना बमोजिम हालसम्म एकजनाको मात्र निवेदन परेको बताइन् ।
उपप्रमुख एवं बाल अधिकार समिति संयोजक रानाले उक्त निवेदन सम्बन्धमा आवश्यक जानकारी लिइरहेको साथै अबका केही दिनमै बैठक बसेर टुंगो लगाउने प्रक्रियामा अगाडि बढेको बताइन् ।
`४० औं दिन शिशुले निकै उतारचढावका बीच गुजारेकी छन् । शिशु चापाकोटकी छोरी हुन्´, उनले भनिन् । पालिकाभित्र भेटिएका शिशुका अभिभावक पहिचान हुन नसकेपछी अनुगमन र आवश्यक परे उपस्थित गराउने गरि चापाकोटले नै वैकल्पिक हेरचाहको जिम्मेवारी दिन लागेको जनाएको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ