पोखरा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताएका छन् ।
शनिबार पोखरामा नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरे ।
‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैँन’ उनले भने ।
देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो ।
अहिलेको राजनीतिक समीकरण मिसन ८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेप मात्र भएको भन्दै एमाले कुनै मोर्चाको पक्षमा नरहेको समेत उनले खुलाए ।
‘हामी यतिबेला कुनै मोर्चाको पक्षमा छैनौं । यो समाजवादी मोर्चा, वामपन्थी एकता ठुला–ठुला कुरा गर्ने कामचाहिँ अर्कै गर्ने, त्यसकारण हामीले भनेको के हो भने वामपन्थीको एकता भन्दा पनि कामपन्थी एकता चाहियो’ उनले प्रष्ट पारे ।
कामको आधारमा अहिलेको समीकरणले दलहरुलाई नजिक ल्याउन भने सक्ने उनको भनाई छ । ‘कामको आधारमा एकता हुन्छ, सकारात्मक काम गर्नेहरु एकठाउँमा जम्मा हुन्छन्, सकारात्मक काम गर्न नसक्नेहरु अर्को ठाँउमा जम्मा हुन्छन्’ उनले थपे ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने बताए । अहिलेको समीकरण एमालेललाई निर्णायक तहमा पु¥याउने एउटा कदम मात्र भएको उनको भनाई थियो ।

उनले आगामी निर्वाचनमा पोखरा महानगरपालिका ३३ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिए। ‘क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो महानगरपालिका बनाउन चुनौती भएपनि एमाले बाहेक अरुले बनाउन सक्दैन, त्यसको लागि पूराना घटना विर्सेर अगाडि बढौं’ उनको आग्रह थियो ।
नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटी अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले बोलेका थिए ।
आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु