पोखरा । गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यो तथ्यांक असार तेस्रो सातासम्मको हो । जसमा सबैभन्दा बढी कास्कीमा ६ हजार नौ सय ७५ हेक्टरमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा कम गोरखामा ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालय प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त छन् । प्रमुख रेग्मीका अनुसार यही असार १५ गतेसम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा त्यसयता बढेर ५० प्रतिशत पुगेको छ ।
अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिने उनको भनाइ छ । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुने गरेको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यवस्त छन् ।
निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलका अनुसार यो वर्ष रोपाइँका लागि मलको अभाव छैन । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि १ लाख हेक्टर वरिपरि वर्षे धान खेती हुँदै आएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धानखेती हुँदै आएको छ ।
गण्डकीका सबैभन्दा धेरै धानखेतीको क्षेत्रफल भएको जिल्लामा पहिलो नवलपुर र दोस्रोमा कास्की हो । यस्तै स्याङ्जा, तनहुँ पनि धानखेतीको क्षेत्रफल बढी हुने जिल्लामा पर्दछ ।
धानखेतीका लागि कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ, गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङको धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट पकेट क्षेत्र तोकिएको छ ।
यस्तै पर्वतको फलेबास, जलजला, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोट, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।
गण्डकीमा सावित्री, रामधान, जेठोबूढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती हुँदै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो