पोखरा । नेपाल आइडल सिजन—५ का विजेता करण परियार र मोटिभेशनल स्पीकर रोहित मल्ल पोखरा आउने भएका छन् । रोहित मल्ल मोटिभेशनल स्पीकरका रुपमा पोखरा आउन लागेका हुन् भने करण सांगीतिक प्रस्तुतीका साथै सम्मान ग्रहण गर्न पोखरा आउन लागेको नेकपा एमाले कास्की जिल्लाका सचिव दर्शन लामाले जानकारी दिए ।
साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा एमाले, कास्कीले ‘अघि बढ्छ युवा’ नामक कार्यक्रम गरेर एक दर्जन युवाहरुलाई सम्मानसँगै अन्य कार्यक्रम गर्दैछ । सोही कार्यक्रममा करणसँगै नेपाल आइडलकी फस्ट रनरअप सलोमी गुरुङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचन र अधिवक्ता कुञ्जनी परियार प्यासी लगायतलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक लामाले जानकारी दिए ।
कार्यक्रम पोखरा ८ न्यूरोडका सिटी स्क्वायरमा २८ गते दिउँसो ३ बजेदेखि सुरु हुने लामाले जानकारी दिए । उनका अनुसार गीत–संगीत, खेलकुद र विविध क्षेत्रका युवालाई सम्मान गर्ने कार्यक्रमसँगै विविध क्षेत्रका सम्भावनाबारे बहस र अनुभवी युवाबाट ‘आत्म मन्थन’ समेत हुने छ । कार्यक्रममा राष्ट्रियता झल्कने गीत प्रस्तुत गर्ने जनाइएको छ ।
यस्तै, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायीक यात्राका बारेमा बताउनेछिन् । उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायीक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने बारेमा आफ्नो भनाइ राख्नेछिन् ।

यस्तै, चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे प्रस्तुती दिनेछन् भने आइएसएमटी कलेजकी कोर्डिनेटर शुष्मा रञ्जित र गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले युवासँग विज्ञानका कुरा गर्नेछन् ।

कार्यक्रममा साहित्यकार निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, रोहित मल्लले भने युवाहरुलाई उत्प्रेरक वक्तव्य दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।
युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन नसकेको अवस्थामा कसरी नेपालमा युवालाई उद्यमी बनाउने भनेर ‘कि नोट’ प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको लामाले जानकारी दिए ।
राजनीतिक अस्थिरताले युवामा नैराश्यता पैदा भइरहेको बेला युवा दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका व्यक्तित्वहरुको प्रस्तुती र मोटिभेस्नल कार्यक्रम गर्न लागिएको लामाले बताए । मोटिभेशनल कार्यक्रमसँगै अहिलेका बहुचर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती र गजल वाचन समेत गर्ने तालिका छ ।


पोखरामा रहेका युवाहरुको सांगीतिक ब्याण्ड द रिफ रिभाइवलले सांगीतिक प्रस्तुति दिने उनले सुनाए । कार्यक्रममा ५ सय जनाभन्दा बढी युवाहरुको सहभागिता हुने अनुमान गरेको उनले सुनाए । कार्यक्रममा ५ सय जनाभन्दा बढी युवाहरुको सहभागिता हुने अनुमान छ ।



सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार