अश्विन दानी, गोरखा । सिरानचोक गाउँपालिका ६ गाँखुको खैरेनीवन टोलका शुकबहादुर विक चारबर्षदेखि टहरोमै जीवन बिताईरहेका छन् । २०७२ सालको भुकम्पले घर भत्किएपनि पैसाको अभावले नयाँ घर बनिनसक्दा उनको सात जनाका परिवार टहरोमै जीवन गुजारा गरिरहेका हुन् ।
पैसाको जोहो हुन नसकेपछि जेठ २६ गतेदेखि घरको काम रोकीएको शुकबहादुरले बताए । आफूले घर बनाउन आबश्यक क्रृण नपाएपछि समस्या परेको उनी बताउँछन् । ‘अहिलेसम्म दुईलाख रुपैँया ऋण लागिसक्यो’, उनले भने ‘गाउँमै सयकडा दुईरुपैँयाको ब्याजमा ऋण लिएर काम थालेको हो । त्यतिले पुगेन । लिएको रिन तिर्न पनि सकिएन । साहुले नपत्याएपछि काम पनि रोकियो ।’
भुकम्प पिडीतलाई सरकारले घर बनाउन दिने अनुदानको पहिरो र दोस्रो किस्ता गरी उनले २ लाख रुपैया लिईसकेका छन् । तर २ कोठे घर बनाउन नै अहिलेसम्म ४ लाख खर्च लागिसकेको शुकबहादुरले बताए । ‘घर बनाउने सामान र ज्याला सारै महंगो छ’ उनले भने ‘यो घर बनाउँदा एक बोरा सिमेन्टको नै एक हजार ५० लाग्यो । गिटी, बालुवा उस्तै महंगो, काम गर्न आउनेलाई दिनकै १२ सय रुपैँया ज्याला दिनुपर्छ ।’ हलोे जोतेर परिवार पाल्दै आएका ५४ बर्षिय शुकबहादुरलाई घर बनाएको क्रृण तिर्न नसक्ने पो हो कि ? भन्ने चिन्ताले पिरोल्ने गर्छ ।
घर बनाएको ऋण तिर्ने पिरलो सोही गाउँकी बिमला विकलाई पनि छ । ६ लाख रुपैयाको लागतमा दुई कोठे घर बनाउँदा दुईलाख लाख २० हजार रुपैयाँ ऋण रहेको बिमलाले बताईन् । ‘दुईवटा लघुवित्त संस्थाबाट ऋण लिएको किस्तामात्रै महिनामा २२ हजार तिर्नुपर्छ’ उनले भनिन् ‘नेष्डो नेपालबाट एकलाख २० हजार लिएको महिनामा १२ हजार तिर्छु । सिर्जना बैंकबाट १ लाख लिएको छु । महिनामा १० हजार किस्ता तिर्नुपर्छ ।’
क्रृण लिएको किस्ता समेत क्रृण खोजेरै तिर्नुपर्ने बाध्यता रहेको उनले बताईन् । ‘बुढा पुलिसमा हुनुहुन्छ, भनेको बेला पैसा पठाउन पाउँदिन भन्नु हुन्छ’ उनले भनिन्, ‘गाउँमै बुढाले पठाएपछि दिउँला भन्दै क्रृण खोजेर किस्ता तिर्ने गरेको छु ।’
भुकम्पले घर भत्किएपनि लाभग्राही सूचीमा नाम नपरेपछि सोही गाउँकी सम्झना विकले पनि तीनलाख रुपैँया ऋण खोजेर घर बनाएको बताईन् ।
‘अनुदान पाउनेमा मेरो नाम आएन । टहरोमा बालबच्चा राख्न सारै गाह्रो भयो । त्यही भएर ऋण गरेर भएपनि घर बनाउन बाध्य भएँ’ उनले भनिन् ‘बुढा मिस्त्री काम गर्नुहुन्छ धेरै कमाई हुँदैन । उहाँको कमाईले खान लाउनै ठिक्क हुन्छ । क्रृण खोजेर घर त बनायौँ तर महिनाको १२ हजार रुपैँया किस्ता बुझाउनुपर्छ ।’ ज्याला मजदुरी गरी जीवीका चलाउने मान्छेलाई नै सरकारले उपेक्षा गरेको उनको गुनासो छ । ‘अधियाँगाउँमा मेलापात गरेर जेनतेन घरधन्दा धानेका छौँ । ज्याला मजदुरीको पैसाले ऋण तिर्ने हो’ उनले भनिन् ‘काम नपाएको बेला, बिरामी परेको बेला कसो गर्ने थाहा छैन ।’
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो