पोखराका १८ विद्यालयका १९ सांगीतिक समूह (ब्यान्ड) लाई पछि पार्दै गुरुकुल विद्या सदनले दोस्रो ‘इन्टर स्कुल ब्यान्ड कम्पिटिसन’ को उपाधि जितेको छ । शनिबार फाइनलमा पुगेका १० स्कुलका ब्यान्डमध्ये गुरुकुल पहिलो भएको हो ।
पोखरा सांगीतिक कलाकार संघले पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ अभियानअन्तर्गत प्रतियोगिता गरेको हो । उपाधि विजेता गुरुकुलले एक लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ग्लोबल कलेजियट माविले दोस्रो र फिस्टेल एकेडेमीले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पाए ।

प्रतियागिताको उत्कृष्ट गायनमा कालिका माविका अमोन गुरुङ, उत्कृष्ट बास गिटारिस्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, उत्कृष्ट लिड गिटारिस्टमा प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए । उत्कृष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, उत्कृष्ट शब्दमा लाभिन्स रेसिडेन्सियल स्कुल र उत्कृष्ट संगीत संयोजनमा कालिका मावि चुनिए । प्रतियोगितामा पब्लिक च्वाइसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाइसमा मदरल्यान्ड मावि (बी) छानिए । विधागत रुपमा उत्कृष्ट भएको ब्यान्डले नगद ५/५ हजार प्राप्त गरे ।
शुक्रबार १८ विद्यालयका १९ ब्यानड पहिलो राउन्डमा सहभागी थिए । मदरल्यान्ड माविको ‘ए’ र ‘बी’ गरी दुई टिम सहभागी थिए । पहिलो राउन्डमा प्रस्तुति दिएका १९ मध्ये १० ब्यान्ड फाइनलमा प्रवेश गरेका थिए । शनिबार फाइनल राउन्डमा सगरमाथा मावि, प्रतिभा मावि, गुरुकुल विद्या सदन, ग्लोबल कलेजियट मावि, कुमुदिनी होम्स मावि, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्यान्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुलले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा प्रतिस्पर्धी स्कुल ब्यान्डहरुले २/२ वटा गीत प्रस्तुत गरेका थिए । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले जानकारी दिए ।

विजेतालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव मनकुमार श्रेष्ठ, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) लगायतले पुरस्कार वितरण गरे । महानगर प्रमुख आचार्यले प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले गीत संगीतलाई पनि पेशा बनाउन सकिने स्थिति रहेको बताउँदै भने, ‘गीत, संगीतमा पनि भविष्य छ । यसलाई पनि पेशा बनाएर सजिलै जीविकोपार्जन गर्न सकिन्छ । तर त्यसका लागि तपाईंमा कला र रुची हुनुपर्यो ।’
संघले ‘ग्रास रुट’बाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै ब्यान्डहरुलाई पुनर्जागृत गराउने संघको भनाइ छ । यसले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्न सघाउ पुग्ने पनि आफूहरुको विश्वास रहेको संघका अध्यक्ष गुरुङले बताए ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा ब्यान्डहरुको राजधानी भनेर चिनिएको भन्दै उक्त पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दबाब पुग्ने उनको धारणा छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन