पोखरा महानगरपालिका वडा नं -१५ ले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको वडा स्तरीय आमा समूह तीज गीत प्रतियोगिता वडावासीको उल्लेख्य सहभागिताका बिच मङ्गलवार सम्पन्न भयो ।
प्रतियोगितामा वडाका २२ आमा समूहले सहभागिता जनाएकोमा माछापुच्छ्रे चौतारी आमा समूह प्रथम, चेतना कृषि आमा समूह दोस्रो र जन जागृति आमा समूहले तेस्रो स्थान हासिल गरे। विजेताले क्रमशः २० हजार, १३ हजार ४ सय, ९ हजार ४ सय र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै, स्यानिमजुवा आमा समूह, स्यानिपाटन आमा समूह र कोलपाटन आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे। उनीहरूले चार-चार हजार नगद र प्रमाणपत्र हात पारे भने, उत्कृष्ट नृत्यमा दुई जनाले तीन – तीन हजार प्राप्त गरे ।
प्रतियोगिताको निर्णायकहरूमा वडा नं १५ निवासी लोकप्रिय गायिका माया गुरुङ, सिता केसी, सिता देवी दुरा, बुद्धिमान दुरा (धम्पु) रहेका थिए। प्रतियोगिताको सञ्चालन गायक रामजी पौड्यालले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह चन्दले महिला दिदी बहिनीहरूको महान् चाड तीज पर्वले दाजुभाइहरूलाई पनि जोड्न सक्नुपर्ने बताइन्। उनले सकारात्मक विचारको बीजारोपण गर्न सके मात्र व्यक्ति स्वस्थ हुने भन्दै स्वस्थ शरीरले नै सकारात्मक कार्य गर्न सक्ने बताइन्। सिंहले समाजमा व्याप्त विभेद विरुद्ध महिलाहरू नै अगाडि सर्नुपर्ने भन्दै महिलाहरूले पनि विभेद नगरी आफू र आफ्नो समाजलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरिन्।

तीज गीत प्रतियोगिताकी संयोजक तथा कार्यपालिका सदस्य मन्दिरा परियारले तीज पर्व हामी सबैको घर- घरमा आए पनि सबै जना एकै ठाउँमा बसेर यस पर्वलाई मनाउनुपर्छ भनेर नै यस कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले आयोजक १५ नं वडा मात्र नभएर सम्पूर्ण आमा समूहको टिम आयोजक बनेर कार्यक्रम सफल बनाउनुपर्ने भन्दै प्रतियोगिताका नियमबारे सहभागीहरू लाई बताइन्।

यस्तै, वडाध्यक्ष तोरण बानियाँले वडा नं -१५ समग्र वडाको अभिभावक भएको हिसाबले भगवानरूपी आमा दिदी बहिनीहरूको कुरा पनि सुन्ने र एकै ठाउँमा बसेर मिठो मसिनो दर पनि खाने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको बताए। उनले अब बोल्ने भन्दा पनि उद्देश्य के हो त्यसमा लाग्न सके सफल भइने भन्दै देशका नेताहरूले आजसम्म काम भन्दा बढी बोल्ने गरेका कारण हामी जहाँको त्यही रहेको बताए। अब बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बाध्यता आएको भन्दै काम गरेर नै जनताको मन जित्नुपर्ने धारणा व्यक्त गरे।

झन्डै एक हजार वडावासीको सहभागिता रहेको तीज विशेष कार्यक्रममा उपस्थित सबैलाई दर खुवाइएको थियो । यद्यपि कार्यक्रमको उत्तरार्धमा वर्षाका कारण कार्यक्रम केही बेर प्रभावित बन्यो।
कार्यक्रमको सहजीकरण वडाका वडा सदस्य आशिष भण्डारी, बलराम पौडेल, सेतीमाया गुरुङले गरेका थिए। कार्यक्रममा पूर्व जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी सुरक्षाकर्मी लगायत वडाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस