पर्वत । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो ।
विगतका वर्षहरूमा बढीजसो बालबालिकाहरू मात्र पर्वत सदरमुकाम कुश्माबजारमा यसपटकको तिहारमा झण्डै ५० देखि ७० वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका छन् ।
क्षेत्री समाज पर्वतले राहत कोष स्थापना गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ । कुश्माबजारमा विभिन्न चोकमा मात्र नभएर वारीबेनी, डिमुवा, चुवालगायत स्थानमा समेत पुगेर देउसीभैली गरिएको समाजका सचिव गणेशबहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार विपद्लगायत समस्यामा परेकाहरूको सहयोगका लागि कोष स्थापना गर्न कार्यक्रम सञ्चालन गरिएको हो । क्षेत्री समाजले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई समेत सहभागी गराएको छ ।
यस्तै, विभिन्न पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विपन्न तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ देउसीभैलो कार्यक्रम गरिरहेको छ । देउसीभैलोबाट सङ्कलित रकमले आर्थिक अभावमा पढ्नवाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने सङ्गठनका सचिव सन्दीप नेपालीले जानकारी दिए ।
यसैगरी नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि देउसीभैलो कार्यक्रम गरेको छ । कोष स्थापना गर्नका लागि समाजले कुश्माबजारका विभिन्न चोकमा पुगेर देउसीभैलो कार्यक्रम गरेको संस्थाका सदस्य जीतबहादुर विकले जानकारी दिए ।
यसबाहेक विभिन्न आमा समूह, पर्यटन महिला समूह, बुहारी समूह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । हाल कुश्माबजार र आसपासका ग्रामीण क्षेत्र देउसीभैलोका गीतले गुञ्जायमान छन् ।
देउसीभैलोमा मौलिकता भने हराउँदै गएको छ । परम्परागत रूपमा भट्टाउने र देउसिरे भन्ने तथा गाउँ समाजका कथावस्तु देउसिरे मार्फत सुनाउने प्रचलन हटेको छ । आधुनिक साउण्ड सिष्टममा विभिन्न नेपाली लोक, पप तथा हिन्दी गीत समेतमा नाच्नाले मौलिकता हराउँदै गएको स्थानीय भोलानाथ शर्माले बताए ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आपराधिक घटना न्यूनीकरण गर्न राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाइएको उल्लेख गरे ।
यस्तै, पर्वत उद्योग वाणिज्य संघले तिहारको अवसरमा घर वा टोलमा आइपुग्ने देउसीभैलो खेल्ने टोलीलाई अधिकतम रु एक सय ५१ रुपैयाँभन्दा बढी नदिन अनुरोध गरेको छ । संघका अध्यक्ष ठाकुरबहादुर पौडेलले देउसीभैलो समूहले दाताको चाहनामा भन्दा पनि आफ्नो चाहनामा मोटो रकम मागेर हैरान पार्ने गुनासाहरू विगतदेखि नै सुनिँदै आएकाले बजारका उद्योगी व्यवसायीलाई त्यस्तो अनुरोध गरिएको बताए । रासस
सम्बन्धित खबर
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित
कोदो फल्ने बारीमा सयपत्री
स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !