बागलुङ ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गरेका छन् ।
पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालय बाहेकका समय कालिज फार्ममा खटिन्छन् । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गरेका थिए । रु २४ हजारमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म रु २५ लाख बढी लगानी गरिसकेका छन् ।
कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहेका छन् । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उनी दंग छन् । कँडेलले छ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका हुन् । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउँछन् । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए ।
“केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन”, उनले भने, “पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यसपछि यही व्यवसाय गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।”
कोभिड–१९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु पर्यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् ।
भाले कालिजलाई रु दुई हजार पाँच सय र पोथी कालिजलाई रु एक हजार पाँच सयमा बिक्री गर्दै आएको उनी बताउँछन् । दसैँमा तीन सय वटा कालिज बिक्री भयो । हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए ।
एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ । रासस
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार