६५ जनाको क्षमता रहेको जिल्ला कारागार स्याङ्जामा दुई गुणाभन्दा बढी कैदीबन्दीहरु रहेका छन् । जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका -१ मा रहेको उक्त कारागारमा अहिले एक सय ४४ कैदीबन्दीहरु रहेको जिल्ला कारागार स्याङ्जाका प्रमुख दिनेश शर्मा मरासिनीले जानकारी दिए ।
वि. सं. २०३७ सालमा स्थापित कारागारमा ५० पुरुष र १५ महिलाको क्षमता रहेपनि अहिले कैदी पुरुष एक सय सात, थुनुवा ३१ जना, महिला कैदी पाँच जना र थुनुवा एक जना गरि १४४ जना कारागारमा कैदीबन्दीहरु रहेको कारागार प्रमुख शर्माले बताए ।
कारागारको भौतिक संरचना पुरानो हुँदा कैदीबन्दीहरुको बसाइँमा भने समस्या भएको छ । हालसम्म मर्मतसम्भार गर्दै दु:ख सुखले चलाउँदै आएको र अझै कैदीबन्दीहरु थपिए भने कारागारमा कैदीबन्दीहरु राख्न समस्या बन्ने र विकल्प खोज्नुपर्ने बाध्यता हुने शर्माको भनाइ छ ।
यद्यपि, कारागारमा कैदीबन्दीहरुलाई खेलमैदान, आर्थिक पार्जनका लागि उद्योग भने रहेको छ । कारागारमा रहेका कैदीबन्दीहरुले बनाएका मोडा लगायतका चिजहरु बेच्न आन्तरिक बजार व्यवस्थापन गरिएको र उनीहरूलाई यसले गर्दा आर्थिक पार्जनमा भने सहयोग भएको कारागार प्रमुख शर्माले बताए । कैदीबन्दीहरुले जेठो मोडा, माइलो मोडा, कान्छो मोडा, चकटी मोडा, सिङ्गल/डबल स्टार मोडा, जम्बो मोडा, टेबल मोडा र टी – टेबल सेट बनाउने गर्दछन् ।
यस्तै, जिल्ला कारागार स्याङ्जामा पाँचौ तहको स्वास्थ्यकर्मीको दरबन्दी लागू भएपनि स्वास्थ्यकर्मीको अभाव रहेको र अहिले उक्त समस्याको पनि केही हदसम्म समाधान भएको प्रमुख शर्माले बताए । कारागारमा दरबन्दी कायम पश्चात् अहेव मनोज कुमार यादवले केवल दुई वर्ष मात्र सेवा दिई २०७९ असार २४ गते रौतहट कारागारमा सरुवा गरेर गएका थिए । उनी सरुवा गरेर गएसङ्गै यहाँ स्वास्थ्यकर्मीको अभाव झेल्नुपरेको हो ।
अहेव सरुवा गरेर गएसङ्गै दुईपटक लोकसेवामा माग गरेपनी स्वास्थ्यकर्मी नपठाइएको प्रमुख शर्माले बताए । उनले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि यहाँका कैदीबन्दीहरुलाई कहिले निजी स्वास्थ्यकर्मी ल्याएर त कहिले जोखिम मोलेर मेडिकल लगेर उपचार गर्नुपरेको बताए ।
नेपाल सरकारले नि: शुल्क उपचारको व्यवस्था गरेको भएपनि कारागारमा स्वास्थ्यकर्मी नहुँदा निजि स्वास्थ्य संस्था, मेडिकलमा निर्भर हुन बाध्य रहेको र मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको कैदीबन्दीको गुनासो रहेको छ ।
केही समय अगाडिदेखि उक्त समस्या पुतलीबजार नगरपालिकाले समाधान गरेको छ । पुतलीबजार नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर अहिले कारागारमै स्वास्थ्य परिक्षण हुने गरेकाले सहज भएको प्रमुख शर्माको भनाइ छ ।
कारागारमा रहेका कैदीबन्दी मध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीका ३९ जना, कर्तव्य ज्यानका २७ जना, लागूऔषधका २८ जना, हाड-नाता करणीका १७ जनासहित २६ मुद्दाका कैदीबन्दी रहेको स्याङ्जा कारागार प्रमुख शर्माले बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’