पोखरा, १२ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराएका उनलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उनको उपचार भएको थियो ।
प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने – ‘कुनै पनि बिरामीलाई आधा सञ्चो त अस्पतालको वातावरण, डाक्टर, नर्सको व्यवहारले नै हुन्छ भनिन्छ । निकै पारिवारिक वातावरणमा सेवा गर्नुभयो । यसका लागि धेरै धन्यवाद व्यक्त गर्दछु ।’

यसैबीच, अस्पतालले एक विज्ञप्ति जारी गर्दै धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको छ ।
अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. देवकुमार थापा, प्रा.डा अर्जुन आचार्य र डा. सि.पी. आचार्यले प्रदेश प्रमुखले अस्पतालको चिकित्सक टोलीलाई विश्वास गरी स्वास्थ्य सेवा लिनुभएकोमा आभार व्यक्त गर्दै अगाडि भनेका छन् – ‘आफ्नै प्रदेशभित्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई विश्वास गर्ने जुन काम गर्नुभएको छ, यसले भविष्यमा यस प्रदेशमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको उच्च मनोबल बढ्ने तथा साधारण उपचारका लागि पनि अन्यत्र दौडने प्रवृत्ति रहेकोमा भविष्यमा कमी आउनेमा विश्वास गर्दछौं ।’

प्रदेश प्रमुख भट्टले अस्पताल बसाईंको क्रममा प्रत्यक्ष भेटघाटका लागि पाल्नुहुने र टाढैबाट स्वास्थ्यलाभको कामना गर्नुहुनेप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
गत फागुन ८ गते विहीबार साँझ अस्पताल भर्ना हुनुभएका उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नेहरुको भीड शुक्रबार बढेपछि अस्पतालले प्रत्यक्ष भेटघाट स्थगन गरेको थियो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री सीता सुन्दास, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, उमाले गण्डकी सचिव धनञ्जय दवाडी, नेता माधव बास्तोला लगायतले प्रत्यक्ष भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए ।



सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’