विज्ञान, प्रविधि र नवप्रवर्तन प्रगति र समृद्धिका मुख्य चालक हुन्ः प्रदेश प्रमुख भट्ट

आरटीएसटीआई २०२५

विज्ञान, प्रविधि र नवप्रवर्तन प्रगति र समृद्धिका मुख्य चालक हुन्ः प्रदेश प्रमुख भट्ट

pp bhatta 1

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन् ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु विज्ञान, प्रविधि र नवप्रवर्र्तनमा हालका प्रवृत्तिहरू सम्बन्धी सम्मेलन (आरटीएसटीआई २०२५) मा प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश र नेपालभर विज्ञान र नवप्रवर्तनको प्रगतिका लागि यस्ता सम्मेलन उपयोगी रहेको बताए ।

गण्डकी प्रदेशले दीगो, ज्ञानमूलक अर्थतन्त्रको परिकल्पना गरेकोमा यस्ता संस्थाहरूले अनुसन्धान, शिक्षा र नीति सिफारिसहरूमा अग्रणी भूमिका खेल्ने बताउँदै भट्टले पोखरा विश्वविद्यालयले कुशल अनुसन्धानकर्ता र प्राविधिकहरू तयार पार्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

‘सन् २०२२ मा सुरु भएदेखि नै आरटीएसटीआईले वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, नीति निर्माता र उद्यमीहरूलाई एकठाउँ गरी नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको भविष्य आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले भने – ‘सम्मेलनका पूर्व संस्करणहरूको प्रभावकारिताले यसको बढ्दो महत्वलाई देखाउँछ। यस वर्ष पोखरा विश्वविद्यालयको नेतृत्वमा विकास र अनुसन्धान उत्कृष्टता प्रवद्र्धन गर्न चालिएको यो कदम पनि लाभदायक हुने विश्वास व्यक्त गर्दछु ।’

गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीले सन् २०२० मा स्थापना भएदेखि नै वैज्ञानिक अनुसन्धान, प्रविधिगत प्रगति र नवप्रवर्तनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

‘हामी प्रविधिगत परिवर्तन र विश्वव्यापी चुनौतीहरूको माझमा उभिएका छौं । यस चुनौतीको सामना गर्दै अघि बढ्न समयानुकूल अनुसन्धान, नवप्रवर्तन र नीतिगत हस्तक्षेपहरू साथैसाथै अगाडि लैजानुपर्ने हुन्छ ।’– प्रदेश प्रमुख भट्टले भने ।

यस्ता सम्मेलन वैज्ञानिक प्रगतिहरू छलफल गर्ने मञ्च मात्र होइन, बरु एसटीआई अनुकूल शासन, उद्योग सहकार्य र उद्यमशीलतालाई समर्थन गर्ने नीतिहरूलाई आकार दिने अवसर पनि रहेको भट्टले बताए ।

सबै मिलेर अनुसन्धानलाई वास्तविक जीवनमा प्रभाव पार्ने, नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने र गण्डकी प्रदेशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नेतृत्व गर्ने केन्द्र बनाउने प्रयासमा हातेमालो गर्दै अघि बढ्न पनि उहाँले आह्वान गरे ।

सम्मेलनमा नेपाल र अन्य देशहरूबाट २ सय भन्दा बढी अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ