पोखरा । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूलनाराका साथ पोखरामा विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघ लिमिटेड कास्की आयोजनामा साताव्यापी कार्यक्रमअन्तर्गत बुधबार मूल समारोह भयो ।
दिवसको मूल समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताए । केही सहकारीमा सञ्चालक र सदस्यहरुको कमजोरीका कारण सहकारी क्षेत्र समस्याग्रस्त बनेको भन्दै उनले केही गल्तीका कारण सबै सहकारीलाई एउटै डालोमा हालेर आलोचना गर्ने गरिएको बताए ।
‘हजारौं सहकारी छन्, एकाध सहकारीले गलत काम गरेका हुनाले सहकारीमा आवद्ध छु भन्दा पनि कसैले राम्रो दृष्टिले हेर्दैन,’ उनले भने, ‘सञ्चालक र सदस्यहरु आपसमा नचिनीकन बाहिरबाट आएर सहकारी चलाएका छन् । त्यही प्रकृतिबाट चलेका सहकारीका मात्रै समस्या छ ।’ उनले बचतकर्ताको बचत रकम सुरक्षामा कुनै पनि कमजोरी नगर्न आग्रह गरे ।
विसं २०१३ सालदेखि नेपालमा सहकारीहरु सञ्चालनमा आएका हुन् । नेपाल सरकारले तीनखम्बे अर्थतन्त्र मुख्य खम्बा सहकारीलाई घोषणा गरेको छ । कास्की जिल्लामा ७ सय ६ सहकारी संस्था दर्ता छन् । पोखरा महानगरपालिकामातहतका मात्रै ३ सय ६३ सहकारी सञ्चालनमा छन् । ५ प्रतिशत सहकारी सञ्चालक गलत बाटोमा हिंड्दा ९५ प्रतिशतले बदनामी खेप्नुपरेको मेयर आचार्यले बताए । उनका अनुसार अहिले महानगरमा सहकारी दर्ता प्रक्रिया बन्द गरिएको छ ।
कार्यक्रममा सरोकारवालाले केही सहकारीका सञ्चालकले गलत गर्दा राम्रोसँग संचालन भएका सहकारी समेत अप्ठ्यारोमा परेका गुनासो गरे । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष समेत घोषणा गरिएको छ । जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले संविधानले परिकल्पना गरेको अर्थतन्त्रको एउटा मजबुत खम्बा सहकारी सक्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए । उनले सहकारीलाई मर्यादित बनाएर लैजान सबैले योगदान गर्नुपर्ने बताए ।
जिल्ला सहकारी संघ कास्की उपाध्यक्ष अम्बिका गौतमले सहकारीका सात सिद्धान्तअनुसार चल्नुपर्ने धारणा राखिन् । सिद्धान्तविपरीत सञ्चालन भएका कारण धेरै सहकारीमा समस्या आएको उनको भनाइ छ । ऋण तथा बचत सहकारी संस्थाका उपाध्यक्ष कमला गिरीले उद्देश्यअनुरुप व्यवहार गर्नुपर्ने बताइन् । ‘हामीले जहाँ–जहाँ नेतृत्व गरेका छौं, ती संस्थालाई कानूनअनुसार सञ्चालन गरौं,’ उनले भनिन्, ‘आफूले खोजेजस्तो र रोजेजस्तो सहकारी निर्माण गर्न आजैबाट प्रतिबद्ध बनौं ।’
दिवसअन्तर्गत विभिन्न मितिमा प्रतियोगितात्मक कार्यक्रमहरु पनि भए । बुद्धिचाल प्रतियोगितामा हेमजा सहकारीका किरणकुमार रञ्जित पहिलो र सोही सहकारीका रामचन्द्र त्रिपाठी दोस्रो भए । लेखनाथ सामुदायिक सहकारीका सागर शाही तेस्रो भए । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविकी इक्विटी पौडेल पहिलो, सिर्जना माविकी अपेक्षा अधिकारी दोस्रो, जुनियर सिटिजन्स एकेडेमीका सार्थक सुवेदी तेस्रो तथा छोरेपाटन माविकी प्रकृति भण्डारी सान्त्वना भइन् । विजेतालाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइएको आयोजकले जनाएको छ ।
सहकारी दिवसअन्तर्गत साइकल ¥याली र रक्तदानसमेत भएको थियो । ¥यालीमा संगम सहकारी पहिलो, फेवा सहकारी दोस्रो र विशाल सहकारी तेस्रो भए ।
रक्तदानमा फेवा सहकारी पहिलो, शुभ सौगात सहकारी दोस्रो, समग्र महिला सहकारी तेस्रो, पामे सहकारी सान्त्वना भएको छ । उनीहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला सहकारी संघका सञ्चालक धनराज पुरीले जानकारी दिए । उनका अनुसार मूल समारोहअघि चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सुरु प्रभातफरी न्यूरोड हुँदै सभागृहसम्म पुगेको थियो ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपकराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुरीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस