पोखरा : इतिहास खोतल्दा विक्रम संवत्को १५ औँं शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए। गाई पाले पनि औंलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे। गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो। विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो। यसबाट १६ औँं शताब्दीयता पोखरामा बस्ती विकासको शुरुवात भएको सहजै अनुमान गर्न सकिन्छ।
उक्त समयमा बाटुले चौर, ढुङ्गेसाँघु र बैदाममा बस्ती बस्न थालेको थियो। पोखराका यिनै ऐतिहासिक घटना क्रमको जानकारीका साथै उपलब्ध भएसम्मका पुराना फोटालाई सङ्कलन गरी जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ नामक ऐतिहासिक फोटोको प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको छ। पोखराको पहिलो फोटोग्राफर तथा फोटो सामग्री निर्माता स्व. जगन्नाथ उलकको स्मृतिमा उनका परिवारका सदस्यले कोष स्थापना गरी त्यसैका माध्यमबाट प्रदर्शनी कक्ष निर्माण गरिएको हो। कोषका अध्यक्ष सुनिल उलकका अनुसार कक्षमा पोखरा र आसपासका २०१० सालको सेरोफेरोका फोटो प्रदर्शनीमा राखिएको छ। स–शुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको कक्षमा नेपाली सर्वसाधारणका लागि टिकट दस्तुर रु ५० छ, भने विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु २५ छ।
त्यस्तै विदेशी नागरिकका लागि रु १०० टिकट शुल्क निर्धारण गरिएको छ। कक्षभित्र स्व. जगन्नाथ उलकले खिचेका फोटाका साथै अमेरिकी पिस कोर भोलेन्टियरले खिचेका फोटा र २०१५ सालमा उत्तर–पश्चिम नेपालको अध्ययन भ्रमणमा आएको जापानी टोलीले खिचेका फोटा छन्। भैरव टोलमा राखिएको कक्षका लागि स्थान भने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका समाजसेवी आनन्दराज मुल्मीले निःशुल्क रुपमा उपलब्ध गराए। “कक्षमा राखिएका फोटा पोखरेली इतिहासको जीवन्त साक्षी हुन्,” मुल्मीले भने,“इतिहासको अध्येताका साथै पोखरा शहरको विकास प्रक्रियाको अनुसन्धानका लागि पनि यो उत्तिकै महत्वपूर्ण बन्ने छ। प्रदर्शनीस्थलमा २०१२ सालमा खिचिएको पोखराको द्विप, २०१४ सालमा खिचिएको मोहोरिया टोल, भीमकाली पाटन, २०१४ सालमा खिचिएको पोखराको पहिलो फुटबल टिम, २०१६ सालमा खिचिएको नालामुखको फोटो जस्ता थुप्रै स्थान विशेषका फोटो जो कोहीलाई लोभ्याउने खालका छन्।
त्यस्तै तत्कालीन समाज, व्यापार, बालबालिकाका खेल आदिका फोटो पनि कक्षमा अवलोकन गर्न पाइन्छ। जापानी प्राध्यापक ताकायामाले २०१५ सालमा खिचेको पोखराका प्रेमराज मुल्मीले विदेशी मुद्रा सटही गर्न बसेको तस्वीर, पिसकोर भोलेन्टियरबाट २०२० चैत महिनामा खिचिएको माझठानाका महिलाले पानी बोकेको तस्वीर, अमेरिकी नागरिक जिम फिल्ड्सले २०२२ मा खिचेको पोखराका महिलाले दाउरा बोकेको तस्वीर, अमेरिकी नागरिक वाटसनले २०१३ मा खिचेको बालविवाहको तस्वीर आदिले तत्कालीन समाजको अनुभव र अनुभूति दिलाउँछ।
पोखरामा गाडी चल्नुभन्दा लगभग १५ वर्षअघि नै २००८ सालमा विमान अवतरण भएको थियो। तत्कालीन समयमा विमानस्थल वरपरका निर्माण, समान ढुवानीलगायतका विषयलाई पनि तस्वीरले जीवन्त चित्रण गरेका छन्। कक्षभित्र ४० देखि ६० वर्षसम्म पुराना पोखराका फोटा तथा डकुमेन्ट्री अवलोकन गर्न सकिने कोषका सदस्य नवीन उलकले जानकारी दिए। “पोखराको विगत जान्न चाहनेका लागि तस्वीर साक्षी प्रमाण हुन्,” उनले भने, “तत्कालीन पोखराको वास्तविकता, जीवनका भोगाइ जस्ता धेरै कुरा तस्वीरले बोलेका छन्।” रासस
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो