पीएन स्ववियु अध्यक्ष विष्णु अनेरास्ववियु अनुशासन आयोग अध्यक्षका उम्मेद्वार

पीएन स्ववियु अध्यक्ष विष्णु अनेरास्ववियु अनुशासन आयोग अध्यक्षका उम्मेद्वार

bishnu photo

पोखरा । अनेरास्ववियु केन्द्रीय अनुशासन आयोग अध्यक्षमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसका स्ववियु अध्यक्ष विष्णु पोखरेलले उम्मेद्वारी दर्ता गराएका छन् । हाल केन्द्रीय कमिटी सदस्य रहेका पोखरेलले २४ औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा आयोग अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।

उनी गत चैतमा १८ वर्षपछि भएको स्ववियु निर्वाचनमार्फत अध्यक्ष चुनिएका थिए ।

को हुन् विष्णु ?

विष्णु २०५४ साल फागुन १४ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जन्मिएका हुन् ।

उनले घाचोककै बालकल्याण प्रा।वि।मा कक्षा ५ सम्म अध्ययन गरे । कक्षा ६ देखि १० सम्म घाचोककै शुक्लागण्डकी मा।वि।मा पढे । कक्षा ८ मा पढ्दा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीमा जोडिएका हुन् । कक्षा ११ पढ्न उनी पोखरा आए । उनले राष्ट्रिय माविबाट कक्षा १२ उत्तीर्ण गरे ।

विष्णु २०७२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । पृथ्वीनारायण क्याम्पस विद्यार्थी राजनीतिका लागि उर्वर भूमि मानिन्छ । मानविकी संकायतर्फ राजनीतिशास्त्र र ग्रामीण विकास अध्ययनको क्रममा उनी प्रथम वर्षमा कक्षा कमिटी उपाध्यक्ष बनेका थिए । त्यसपछि उनी अनेरास्ववियुको राजनीतिमा निरन्तर सक्रिय छन् । विष्णु हाल पृथ्वीनारायण क्याम्पसमै इतिहास विषयमा स्नातकोत्तर गरिरहेका छन् ।

२०७३ सालको स्ववियु निर्वाचनमा सरिता पुरी नेतृत्वको अनेरास्ववियु प्यानलबाट विष्णु सदस्य पदका उम्मेद्वार थिए । २०७७ साल माघ ९ गते उनी अनेरास्ववियु क्याम्पस कमिटी संयोजक बने । २०७८ साल पुस १४ गते क्याम्पस कमिटी अध्यक्ष भए । २०७९ साल फागुनमा भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

विद्यार्थीका मुद्दा स्थापित गर्न र विद्यार्थी राजनीतिमा विष्णु निरन्तर सक्रिय छन् । उनी अनेरास्ववियुमा लाग्दा भारतले नेपालमा नाकाबन्दी गरेको थियो । नाकाबन्दीविरुद्धको आन्दोलनदेखि कोभिड–१९ को समयमा विद्यार्थीले खोप लगाउनुपर्छ भन्ने मागमा पनि उनी सक्रिय रहे ।

कोरोना महामारीको समयमा क्याम्पसमा प्रवेश पत्रको आधारमा खोप लगाउने कुरा भएको थियो । तर, अनेरास्ववियुको पहलपछि पहिलो चरणमा परीक्षा तालिका सार्वजनिक भएका विद्यार्थीलाई, दोस्रो चरणमा परीक्षा फारम भरेका, तेस्रो चरणमास अन्य विद्यार्थीलाई खोप लगाउनुपर्छ भनेर प्रशासन र स्वास्थ्य कार्यालयसँग माग गरेको थियो ।

पृथ्वीनारायण क्याम्पस वरपरका ग्रामीण भेगबाट आउने विद्यार्थीलाई घरबाटै आउने–जाने व्यवस्था गर्ने विष्णुको पहल सफल भएको थियो ।

२०७९ सालमा गण्डकी प्रदेश सरकारले आफन्त र पार्टीका नेताको नामको ट्रष्टमा बजेट विनियोजन गरेको थियो । त्यतिबेला अनेरास्ववियुले प्रदेश सभा परिसरमा आन्दोलन गरेर एक रुपैयाँ संकलन अभियान चलाएको थियो । यो समयमा पृथ्वीनारायण क्याम्पसको होस्टल निर्माण गर्न बजेट चाहिएकाले ट्रष्टको बजेट खारेज हुनुपर्ने विषय अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले उठाएका थियो ।

विष्णु नेतृत्वको स्ववियुको पहलपछि संघ सरकारले आगामी आर्थिक वर्षको बजेटमा पृथ्वीनारायण क्याम्पसमा छात्रबास बनाउन ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

भर्खरै

ट्रेन्डिङ