स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । जिल्लाकै कान्छो पालिकाका रुपमा परिचित फेदीखोला गाउँपालिकाले स्थापना भएको नौ वर्षपछि आफ्नै भवनबाट काम थालेको हो ।
ठेक्का सम्झौताअनुरूप दुई वर्षमा सक्नुपर्ने भवन निर्माण कार्यले चार वर्षमा पूर्णता पाएपछि पालिकाले नयाँ भवनको प्रयोग गर्न पाएको हो । पालिकाले यहि जेठ १७ गतेदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
कम्पाउन्डसहित १० रोपनी जग्गामा तीन रोपनीमा भवन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित नवनिर्मित भवनका चार तलामा ३५ कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुखका साथै सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन् । पालिकाको नवनिर्मित भवनमा दुईवटा हल, लिफ्ट, १९ वटा शौचालय र एउटा अपाङ्गमैत्री शौचालयसमेत बनाइएको छ । जिल्लामै बनेका पालिकाका भवनमध्ये लिफ्टसहितको भवन फेदीखोला गाउँपालिकाको मात्रै हो ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जा जिल्लामा फेदीखोला गाउँपालिकाको भवन नै अन्तिम भवन हो । संघीयताभन्दा पहिलाका तीन नगरपालिका पुतलीबजार, वालिङ र चापाकोटले पहिल्यै बनेका भवन प्रयोग गरेका छन् भने संघीयतासङ्गै बनेका दुई नगरपालिका र पाँच गाउँपालिकाले यसअघि भवन निर्माण गरिसकेका छन् ।
पालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार यसअघि साबिक फेदीखोला गाविसको भवन मर्मत गरेर कार्यालय र शाखाहरु सञ्चालन गरिएको थियो । प्रशासकीय भवन निर्माणपछि आफ्नै भवनमा सबै शाखाहरुबाट सेवा प्रवाह गर्न थालिएको पालिका अध्यक्ष सुवेदीले बताए ।
संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र फेदीखोला गाउँपालिकाले ६०/४० प्रतिशत लागतमा आठ करोड ५२ लाख २९ हजार रुपैयाँमा भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
किराँतेश्वर कन्स्ट्रक्सन एन्ड डिलिङ कम्पनी काठमाडौंले दुई वर्षमा सक्ने गरेर २०७७ फागुन ६ गते भवन निर्माणको सम्झौता गरेको थियो । गाउँपालिका इन्जिनियर तारानाथ पीडेलले निर्माण कम्पनीले दुईपटक म्याद थपेर दुई वर्ष म्याद गुजारेर भवन निर्माण सकेको बताए । निर्माण सकिए पनि निर्माण कम्पनीले एक करोड ३४ लाख ६१ हजार ८९० रुपैयाँ लिन बाँकी छ ।
पालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपनि निर्माण कम्पनीले हस्तान्तरण भने गरेको छैन ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस