कास्कीमा ११४ वटा मानव अधिकार उलंघनका घटना, घरेलु हिंसा सबैभन्दा धेरै

कास्कीमा ११४ वटा मानव अधिकार उलंघनका घटना, घरेलु हिंसा सबैभन्दा धेरै

insec 2

पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म कास्की जिल्लामा ११४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले असार १८ बुधबार पोखरामा कास्की जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे जानकारी दिँदै अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा गरेको हो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलका अनुसार कास्कीमा घरेलु हिंसा सबैभन्दा बढी देखिएका छन् । बालअधिकार अन्तर्गत ९ वटा घटना छन् । ती मध्ये बालिका बलात्कारका ७ वटा र बालबालिका कुटपिटका २ वटा घटना भएको खकुरेलले बताए । अमानवीय व्यवहार तथा दुव्र्यवहारका २ वटा, कुटपिटका २ र हत्याका १ वटा घटना छन् । यस्तै, जातीय विभदकाको १ वटा, महिला अधिकार सम्बन्धी महिला बलात्कारका ७ वटा घटना भएको खकुरेलले बताए । उनका अनुसार ६ महिनामै घरेलु हिंसाका ९२ वटा घटना घटना अभिलेख गरेको उनले बताए ।

‘गत वर्ष यहीँ समयमा सन् २०२४ जनवरीदेखी जुनसम्म ९३ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको थियो । त्यसमध्ये घरेलु हिंसाको घटना मात्र ५३ वटा थिए । तर, यो वर्ष त्यसको संख्या ह्वातै बढेर ९२ पुगेको अभिलेख गरिएको छ,’ खकुरेलले भने ।

इन्सेकले विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धीहरूमाथि आधारित रहेर वर्षभरि देशभरिका घटनाहरू संकलन गर्ने र विश्लेषणसहित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ प्रकाशन गर्दै आएको छ । आगमी वर्षको मानव अधिकार वर्ष पुस्तकका लागि लागि घटना संकलन भइरहेको इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले बताए । यो ६ महिलाको अवधिमा नागरिक तथा राजनीतिक अधिकारमा केही सुधार देखिए पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्थामा खासै प्रगति नभएको रानाभाटले बताए ।

इन्सेक गण्डकी प्रदेश प्रमुख खकुरेलले शिक्षा, स्वास्थ्य, खाद्य, आवास, सुरक्षा, रोजगारी र विभेदविरुद्धको प्रत्याभूतिमा राज्य चुकिरहेको बताए । बाल अधिकारको सन्दर्भमा उनले भने, ‘छोरीको भ्रुण हत्या, बालश्रम, विद्यालयमा दिइने शारीरिक दण्ड, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अभाव, बालविवाहलगायत घटना अझै समाजमा लुकेर भइरहेका छन् । त्यसलाई न्यूनीकरण गर्न सबै जागरुक हुनुपर्छ ।’

मानव अधिकार उल्लंघन र अपराध छुट्याएर विश्लेषण गर्नुपर्छः सिडिओ शर्मा शर्मा

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मानव अधिकार उल्लंघन र आपराधिक घटना फरक विषय भएको भन्दै यस्ता घटनाको गहिरो विश्लेषण गरी नीति निर्माणमा योगदान दिनुपर्नेमा जोड दिएकी छन् । इन्सेक गण्डकी प्रदेश कार्यालयले पोखरामा आयोजना गरेको ‘कास्की जिल्लाको अर्धवार्षिक मानव अधिकार पूर्वसमीक्षा कार्यक्रम’मा बोल्दै उनले उजुरी लिने निकायले उजुरी नलिँदा मानव अधिकारको उल्लंघन हुने बताइन् ।

‘पीडितले न्याय नपाउँदा त्यो आफैंमा मानव अधिकार उल्लंघन हो । अपराधको सजाय मात्र नभई, पिडितले क्षतिपूर्ति पायो कि पाएन, त्यो आधारमासमेत मूल्यांकन गर्नुपर्छ,’ सिडिओ शर्माले भनिन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले आर्थिक अपराधपछि साइबर अपराधका उजुरी धेरै दर्ता भएको बताए । मान्छे लोभी र पापी बन्न खोज्दा आफैं ठगिएका घटना बढ्दै गइरहेको डिएसपी बस्नेतले बताए । कतिपय घटनाका मुद्दामा पीडित होस्टाइल हुने गरेको उनले सुनाए ।

मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका टंक खनालले इन्सेकले उल्लंघका घटनाहरू वर्गीकरण गरेर प्रस्तुत गरे भविष्यमा समाधान प्रक्रिया सहज हुने बताए । कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले युद्ध र संघर्षका बीचमा विश्वमै मानव अधिकार संकटमा परेको बताए । गैरसरकारी संस्था महासंघका गोपाल खड्काले तीन–तीन महिनामा स्थानीयस्तरमा घटनाहरूको अनुगमन र समीक्षा हुनुपर्ने बताए । दलीत महिला संघ गण्डकीकी अध्यक्ष सुमित्रा गायकले जातीय विभेदका घटनाहरू बाहिर ल्याउनुपर्ने धारणा राखिन् ।

राष्ट्रिय अपांग महासंघ गण्डकीका कृष्णप्रसाद अधिकारीले अपांग व्यक्तिका परिचयपत्रमै भेदभाव हुने स्थिति रहेको बताए । ‘परिचयपत्रमा अपांगता नखुलाई अधिकार सुनिश्चित गर्न सकिँदैन,’ उनले भने । कोपिला नेपालका तीर्थ थापाले महिला हिंसा कुन क्षेत्र वा वर्गमा बढी छ भन्ने वर्गीकरण गर्न सुझाव दिए ।

मानव अधिकार एयरलायन्सका बुद्धि थापाले ढिलासुस्ती जस्ता सेवा प्रवाहमा हुने कमजोरीलाई पनि मानव अधिकार उल्लंघनको रूपमा अभिलेख गर्नुपर्ने सुझाएका छन् । मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष धुव्रसिंह खड्काले सरकारी अस्पतालमा बीमा सेवा प्रभावकारी नभएको जनाउँदै बिरामीले अनावश्यक सास्ती पाएको उल्लेख गरे ।

कार्यक्रममा महिला एकल महिला समूहकी जुना केसीले परिवारमै हुने हिंसा बढिरहेको बताइन् । गोरेटो नेपालकी विमला गुरुङले बालश्रमको अवस्था गम्भीर बन्दै गएको बताउँदै नियमित अनुगमनको आवश्यकता औंल्याइन् । मानव अधिकार एयरलायन्स कास्कीका अध्यक्ष मधु पन्थीले साइबर अपराधलाई पनि उच्च प्राथमिकतामा राखी अभिलेख गर्नुपर्ने बताए । शिविन नेपालकी कृष्णा गुरुङले आर्थिक अभावका कारण धेरै बालबालिका न्यायबाट वञ्चित भएको सुनाइन् ।

द्वन्द्वपीडित दुधराज अधिकारीले गण्डकी प्रदेशको बजेटले उनीहरूको स्वास्थ्य बीमा हटाएको भन्दै गुनासो पोखे । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा थिइन् भने कार्यक्रम सञ्चालक पत्रकार सञ्जय रानाभाट थिए । कार्यक्रमको सभाध्यक्ष इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ