पोखरा । र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गरे । रैथाने ज्ञान प्रणालीमा ज्ञान सामूहिक हुने बताउँदै त्रिवेणीले हिउँको गीतमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान पनि सँगसँगै बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्त्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे ।
“उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ । यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ ।” त्रिवेणीले भने, “अझ चर्चा गर्नुपर्ने अर्को पक्ष भनेको रैथाने परम्पराको अन्त्यमा औपनिवेशिक शक्तिको हात हुने कुरा हो । संसारभर नै रैथाने परम्परा र पद्धतिको अवसान औपनिवेशिकताको प्रवेशसँगै भएको छ । त्यो औपनिवेशिकता कुन रूपमा कसरी छिर्छ, त्यो समाजपिच्छे फरक हुन सक्छ तर त्यसले ल्याउने नियति सबै समाजमा एउटै हुन्छ– समाजको विखण्डन र विनाश जो हिउँको गीतमा पनि आएको छ ।”
उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लङ्ग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ ।
कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए । मिर्गौलासम्बन्धी रोगबाट पिडित गुरुङले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसङ्ग गुरुङले भावुक हुँदै सुनाए । यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा सङ्ग्रह) बजारमा ल्याइसकेका गुरुङले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए । हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए । गुरुङ जातिको उद्गम थलो क्होला राज्यको विकासदेखि विघटनसम्मको कथावस्तु हिउँको गीतमा समेटिएको छ ।
सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा कौशलचन्द्र जिसी, कुमार तामाङ, डा। लक्ष्मीशरण अधिकारी, मेघराज ढकाल, डा। हुमबहादुर गुरुङलगायतले टिप्पणी गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार