फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्थानीय अन्न, स्थानीय पहिचान — ‘कोदो दिवस’ बाट पोषण, आत्मनिर्भरता र संस्कृतिको जगेर्ना

fedikhola gapa-pic

स्याङ्जाको फेदीखोला गाउँपालिकाले ‘स्थानीय अन्नको संरक्षण र प्रवर्द्धन’ मा नयाँ इतिहास रच्दै विद्यालयमा हप्तामा कम्तीमा दुई दिन कोदोबाट बनेका परिकार अनिवार्य गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको यो निर्णय प्रथम राष्ट्रिय कोदो दिवस २०८२ साउन १६ गतेबाट लागुहुने छ ।

अबदेखि विद्यालयका दिवा खाजामा ढिँडो, कोदो मम, तावा रोटी, पुवा, सेलरोटी, चिउरा, हलुवा, सूपजस्ता कोदोबाट निर्मित स्वादिला र पौष्टिक परिकारहरू अनिवार्य रूपमा समावेश गरिनेछ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, “विद्यालयदेखि सभा–सेमिनारसम्म अब कोदोका परिकारलाई प्राथमिकता दिनेछौं।” वडा कार्यालय, चमेना गृहदेखि सार्वजनिक कार्यक्रमहरूमा समेत कोदोका परिकार अनिवार्य बनाउने नीति लिइएको उनले जानकारी दिए ।

कोदोको पोषण मूल्य, खाद्य सुरक्षामा योगदान, कृषकको आम्दानी वृद्धि, र स्थानीय अर्थतन्त्र सुदृढीकरण जस्ता बहुआयामिक लाभलाई केन्द्रमा राख्दै पालिकाले नीति निर्माण गरिरहेको छ ।

कोदो दिवसको अवसरमा विशेष कार्यक्रम
साउन १६ गते ‘कोदो दिवस’ को अवसरमा फेदीखोला–१, रामकोटमा कोदो रोपाइँ, परिकार प्रदर्शनी, प्रयोगात्मक कार्यक्रममार्फत समुदायस्तरमा चेतना अभिवृद्धि गरिने अध्यक्ष सुवेदीले बताए ।

विद्यालयस्तरमै सचेतना फैलाउन पालिकाले २०७७ सालदेखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ विषय समावेश गरिसकेको छ ।

फेदीखोलाको यो कदम केवल कोदोको प्रवर्द्धन मात्र नभई स्थानीयपन, स्वास्थ्य र आत्मनिर्भरता को गहिरो सन्देश हो । यसले अन्य पालिकाहरूका लागि पनि प्रेरणा बन्ने पूर्ण सम्भावना बोकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds