संघीयता सुरु हुँदासम्म स्याङ्जामा कालोपत्रे भएको सडक सिदार्थ राजमार्ग मात्र थियो । तर, अब अवस्था फेरिएको छ, पछिल्लो वर्ष गाउँगाउँमा धमाधम कालोपत्रे भइरहेको छ। स्याङ्जाका गाउँबस्ती हुँदै कालोपत्रे सडकले पहुँच बनाउँदै गाउँलेको जीवनशैलीमै परिवर्तन ल्याउन थालेको छ ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०८१/०८२ मा ३० किलोमिटर ग्रामीण सडक कालोपत्रे गरेको जनाएको छ । यो वर्ष ५० किमी कालोपत्रे गर्ने लक्ष्य राखिए पनि कार्यालयले बहुबर्षीय योजनाहरु समयमा नसकिनुले लक्ष्य पूरा गर्न नसकेको बताएको छ ।
कार्यालयका प्रमुख दयाराम अधिकारीका अनुसार कार्यालयले हालसम्म दामाचौर–हिलामर्याङ १०.५ किमी, राङखोला–धोबादी–बिरुवा ६.१ किमी, बिरुवा–किचनास १.७ किमी, पिपलटारी–बोदीभञ्ज्याङ १.५ किमी, पुतलीखेत–सतौं दरौं ३.१ किमी, ठाडोखेत–दार्हेगौंडा २०० मिटर, अल्छीखोला–रानीपोखरी ८५० मिटर र बयरघारी–बानेथोक ८०० मिटर सडक कालोपत्रे गरेको छ ।
त्यसैगरी पौवेगौडे र रातोखोलामा दुई वटा मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ भने थप पाँच वटा झोलुङे पुलसमेत निर्माण गरिएको छ ।
कालोपत्रे विस्तारसँगै लामो समयदेखि धुलो र हिलोसँग जुधिरहेका गाउँलेहरू खुसी भएका छन् । स्थानीय तहमा पूर्वाधारले लय लिँदै गएको महसुस हुन थालेको छ ।
तर, प्रगति सबैजसो क्षेत्रमा उत्साहजनक छैन । ठेक्का सम्झौता भएका १२ वटा बहुवर्षीय योजनामध्ये अधिकांश अधुरै छन् ।
मालुङगा–रुद्रबेणी सडकमा ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ, जबकि सम्झौता अवधि सकिन तीन महिना बाँकी छ । रत्ने–सुन्तलाबारी सडकमा त अझै निर्माण कम्पनीले कामै छाडेर गइसकेको अवस्था छ ।
गल्याङ–चापाकोट, कोल्मा–ज्यामिरे, दरौं–आरुचौर, बायाँटारी–सेतिबेनी, किनारे–धुरकोट, जिमुवा–पाखिचौर, पिपलटारी–बोधिभञ्ज्याङ, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवास, बलमाटा–खिलुङजस्ता योजनाहरू पनि सम्झौता समय सकिँदै गर्दा पनि सुस्त गतिमा छन् ।
निर्माण कम्पनीको कमजोरी र बजेट अभावले अधिकांश योजना अधुरो रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको अन्त्यमा कार्यालयले ७३.२६ प्रतिशत भौतिक प्रगति गरेको छ । १ अर्ब ३८ करोड ३ लाख ३४ हजारको कुल बजेटमध्ये १ अर्ब १ करोड १२ लाख ६५ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
गाउँ–गाउँमा कालोपत्रे सडक पुगे पनि अधुरा योजना र सुस्त निर्माण प्रक्रियाले पूर्वाधार विकासको गति अझै पूरा लयमा आएको छैन भन्ने संकेत गरेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु