पोखराको अग्रणी औद्योगिक घराना लक्ष्मी ग्रुप (लक्ष्मी फाउन्डेसन) ले पोखराका तालहरूको सरसफाइ ५ वर्षसम्म गर्ने भएको छ । पोखरा महानगरपालिकासँग ताल सरसफाइ सम्बन्धी सम्झौता पत्रमा ग्रुपले हस्ताक्षर गरेको छ ।
तालको पानी कञ्चन बनाउने तथा तालमा रहेको जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने विषयमा यी दुई संस्थाबिच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरूको सरसफाइ गर्नेछ । जस अनुसार फाउण्डेसनले पहिलो चरणमा तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ । दोस्रो चरणमा तालमा रहेका फोहोरहरू र जलकुम्भी झारको सरसफाइ गर्नुका साथै त्यसलाई रोजगारीसँग जोड्ने समझदारी पत्रमा उल्लेख छ । त्यस्तै, तेस्रो चरणमा पोखरा बहु प्राविधिक शिक्षालयसँगको सहकार्यमा त्यहाँ विद्यार्थीलाई सीप विकासका लागि ईन्टर्न गराउने, प्रशिक्षण चलाउने र ऊर्जा विकासमा पनि सघाउनेछ ।
पानी निर्मलीकरणका लागि फाउण्डेसनले स्विस प्रविधि अपनाउने छ । जसका लागि केमिकल प्रयोग गरिने फाउण्डेसनका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले जानकारी दिए । यो केमिकलले तालको पानीमा कुनै असर गर्दैन,उनले भने,‘यसले पानीमा देखिने फोहोर र लेउ हटाउनेछ । अनि पानी निर्मल र कञ्चन देखिनेछ भने त्यहाँ रहेका जीव तथा पर्यावरणमा कुनै असर गर्दैन ।’ यसको प्रयोग स्विजरल्याण्ड, भियतनामलगायत विश्वका धेरै देशहरूमा भइसकेको उनले दाबी गरे । यसले तालको पानी दुई, तीन दशकअघिको अवस्थामा फर्काउने उनको दाबी छ ।
दोस्रो चरणमा गरिने जलकुम्भीलगायत झारहरूको व्यवस्थापन गर्न पनि स्विस प्रविधि अप्नाईनेछ । जसका लागि जलकुम्भीबाट हस्तकलाका सामानहरूको उत्पादन गरिनेछ । जलकुम्भी झारलाई सुकाएर त्यसबाट हस्तकलाका सामानहरू निर्माण गरिने फाउण्डेसनका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । यसमा उत्पादनको जिम्मा फाउण्डेसनको हुनेछ भने बजारीकरणमा महानगरले सघाउनेछ । यसले स्थानीय ३ सय जनालाई रोजगारीमासमेत जोड्ने श्रेष्ठले बताए । उनले भने,‘स्थानीय सीमान्तकृत समुदायका महिलाहरूलाई रोजगारीमा जोड्ने हाम्रो प्रयास रहनेछ ।’
तेस्रो चरणमा गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण दिएर सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ । यही अन्तर्गत विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन गरिने श्रेष्ठले बताए ।
फाण्डेसनले सञ्चालन गर्ने परियोजनाको अवधि ५ वर्षको छ भने त्यसअघि सम्झौताको मितिले ६ महिना परीक्षण काल चल्ने जनाइएको छ । परीक्षण कालमा पोखरा महानगर भित्रको साना तालहरु मध्येको एक न्यूरेनी वा कुनै एक तालमा पाइलट प्रोजेक्ट चल्ने फाउण्डेसनका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । न्यूरेनी ताल बाटै गर्ने कि भन्नेमा हामी छौँ,उनले भने,‘नभए पनि अर्को कुनै सानो तालबाट पाइलट प्रोजेक्ट सुरु गर्नेछौँ ।’ पाइलट प्रोजेक्ट सफल भएपछि पोखराका ठूला तालहरू फेवाताल, बेगनास, रुपा लगायतका तालहरूमा परियोजना सञ्चालन हुने उनले बताए।
लक्ष्मी ग्रुप तथा लक्ष्मी फाउण्डेसनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले परियोजना सञ्चालन गर्न लागेको बताए । ‘पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धतालाई व्यवहारिक कार्यान्वयनका लागि सम्झौता गरेका छौँ’–उनले भने ।
परियोजना सफल भएमा पोखरामा रहेका तालहरूको दिगो संरक्षण र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने महानगरपालिकाको विश्वास छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’