पोखराका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै पर्यटक बढी भन्दा बढी आकर्षित गर्ने उद्धेश्यले लेकसाइड होटलियर्स क्लबले सम्बन्धित पर्यटकीय स्थलका व्यवस्थापन समिति र सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ । यसै क्रममा पहिलो कार्यक्रम महेन्द्र गुफाको प्राङ्गणमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी स्थानीय र अगुवाहरुले पोखरा आउने पर्यटकलाई उपलब्ध गराइने ’साइटसिइङ प्याकेज’ मा महेन्द्र गुफा, चमेरो गुफा र सेती नदीलाई अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थानीयहरूले प्रदेश सरकारले गुफा संरक्षणका लागि बजेट विनियोजन गरे पनि केन्द्र सरकारले प्राकृतिक सम्पदा मासिने गरी गुफा क्षेत्रभित्रैबाट मध्यपहाडी लोकमार्गको रेखांकन गरेकोमा चिन्ता व्यक्त गरे । उनीहरूले अदालतबाट ’स्टे अर्डर’ जारी भएको अवस्थामा पनि अनावश्यक राजनीतिको कारण ऐतिहासिक एवं प्राकृतिक सम्पत्तिहरू मासिन सक्ने जोखिमप्रति दुःख व्यक्त गरे ।

महेन्द्र गुफा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र खड्काले यस अन्तरक्रियाबाट आफूहरू खुसी भएको र समग्र पोखराको पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लेकसाइड होटलियर्स क्लबका अध्यक्ष सुनिल पौडेल शर्माले क्लब स्थापनादेखि नै पोखराको पर्यटन प्रवद्र्धनका लागि विभिन्न काम गरिरहेको जानकारी गराउँदै यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य ’एकद्वार प्रणाली’ अन्तर्गत पोखरा आउने पर्यटकलाई सबै पर्यटकीय स्थलको भ्रमण गराई उनीहरूको बसाइ लम्ब्याउनु रहेको उल्लेख गरे ।
‘धेरै भारतीय धार्मिक पर्यटकहरू वैकल्पिक मार्गबाट मुक्तिनाथ र पशुपतिनाथ दर्शनका लागि सिधै जाने र पोखरामा पाइला पनि नटेक्ने अवस्था आउन सक्नेतर्फ पोखराका सम्पूर्ण पर्यटन व्यवसायी बेलैमा सचेत हुन जरुरी छ ।’ उनले भने – ‘प्राकृतिक पर्यटकीय स्थलहरूमा प्राथमिक उपचार कक्ष स्थापना गरी पर्यटकलाई सुरक्षित र विश्वासिलो वातावरण दिनुपर्ने तथा स्थलको बाह्य स्वरूपलाई थप सुन्दर बनाउन व्यवस्थापन समिति सक्रिय हुनुपर्ने हुन्छ ।’
पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले नेपाल विश्वका दुई ठूला जनसंख्या भएका देशको छिमेकी भएर पनि पर्याप्त पर्यटक भित्राउन नसक्नु दुःखद भएको बताए । उनले तथ्याङ्कमा धेरै पर्यटक देखिए पनि अर्थतन्त्रलाई टेवा पुर्याउने गुणस्तरीय पर्यटकको संख्या कम रहेको औंल्याए।

थोरै पर्यटकका बीच पनि स्थानीय पर्यटन व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय झनै धराशयी भएको उनको भनाइ थियो। उनले पोखरालाई पर्यटकीय राजधानी र भ्रमण वर्ष घोषणा गरिए पनि प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोग नभएकोमा असन्तुष्टि व्यक्त गरे। पर्यटन क्षेत्रलाई चलायमान बनाउन सम्बन्धित सबै संस्था जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा महेन्द्र र चमेरे गुफाको आम्दानीबाट सञ्चालित बिन्दबासिनी माध्यमिक विद्यालयका अध्यक्ष सन्दीप थापाले विद्यालयमा हाल करिब १५०० जना विपन्न तथा जेहेन्दार विद्यार्थीले अध्ययन गरिरहेको बताए ।
उनले विद्यालयले देशकै सामुदायिक विद्यालयमध्ये दोस्रो उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा गर्व व्यक्त गरे । कोभिड महामारीका कारण पर्यटन गतिविधि ठप्प हुँदा विद्यालयले शिक्षक र कर्मचारीको संख्यामा भारी कटौती गर्नुपरेको स्मरण गर्दै उनले अहिले पर्यटन क्षेत्र चलायमान भए पनि अपेक्षित पर्यटकको आगमन हुन नसकेको गुनासो गरे ।
उक्त कार्यक्रममा महेन्द्र गुफा संरक्षण तथा सामुदायिक विकास संस्थाका संयोजक अनिल बस्नेत, बिन्दबासिनी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य लगायत स्थानीय र होटल व्यवसायीहरूको उपस्थिति थियो ।

क्लबका कोषाध्यक्ष सुशील पराजुलीले विदेशमा सामान्य ठाउँको पनि व्यापक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने गरिएको तर प्राकृतिक रूपमै सुन्दर पोखरालाई ब्रान्डिङ गर्न नसकिएको बताए। उनले अब सरकारी संयन्त्रमार्फत नै अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न पहल गर्नुपर्ने र यसका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रमको सञ्चालन क्लबका सचिव झलकप्रसाद तिवारीले गरेका थिए। कार्यक्रम संयोजक इशान खड्काले महेन्द्र गुफा, चमेरो गुफा र सेती नदीमा एक–एक वटा आउटडोर डस्टबिन वितरण गरिएको जानकारी दिए।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’