पोखरामा जेन-जी आन्दोलन: आगजनी गरिएका भवनमा भेटिए २ शव

पोखरामा जेन-जी आन्दोलन: आगजनी गरिएका भवनमा भेटिए २ शव

गण्डकीका मन्त्री विन्दु थापाको भवनमा शव भेटिएका हुन्

pokhara death

पोखरामा जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको भाइ ध्रुब थापाको घरमा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जना युवतीको मृत्यु भएको छ ।

शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ । जानकारका अनुसार  उनी सञ्जु नगरकोटी हुन् । उनी घरेलु कामदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सञ्जुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि उनको पालिका र वडा भने अझै निश्चित हुन सकेको छैन ।

यस्तै, आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा पनि एक युवतीको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वस्थानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।

मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले देशभर अकल्पनीय क्षति पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ