देशभर भदौ २३ र २४ गते जेन-जेड आन्दोलनका क्रममा भएको ठूलो संख्यामा हताहतीको घटनाले स्याङ्जाका स्थानीय तहहरूलाई समेत मर्माहत बनाएको छ । यही कारण स्याङ्जाका छ पालिकाले बुधबारदेखि अनिश्चितकालीन बिदा दिएका छन् ।
बिदाको घोषणा गर्नेमा गल्याङ, भीरकोट र वालिङ नगरपालिका साथै हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका रहेका छन् । पालिकाहरूले विज्ञप्ति जारी गर्दै वडा कार्यालयदेखि शैक्षिक संस्था र सम्पूर्ण संघ–संस्था अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएका छन् ।
विज्ञप्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान विषम परिस्थितिलाई शान्तिपूर्ण र संयमतापूर्वक समाधान गर्न सबैलाई अपिल गरिएको छ ।
यसैबीच, जेन-जेडले स्याङ्जामा प्रदर्शन गरे पनि ठूलो अप्रिय घटना भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मंगलबार सदरमुकाम स्याङ्जा बजारमा भएको प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिकाको कार्यालयको साथै नेकपा एमाले र नेपाली काँग्रेसको जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयका सिसा फुटाइएका थिए भने ट्राफिक चोकमा रहेको बि.पि. कोइरालाको शालिकसमेत तोडफोड गरी क्षति पुर्याएको थियो । सामान्य क्षति भए पनि आन्दोलन तुलनात्मक रूपमा शान्तिपूर्ण रहेको उनको भनाइ छ ।
देशभर आन्दोलनमा ठूलो क्षति पुगे पनि स्याङ्जामा भने जेन-जेडहरूले अपेक्षाकृत संयमता अपनाएको देखिएको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’