संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव छ: मुख्यमन्त्री पाण्डे

शुभकामना सन्देश

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव छ: मुख्यमन्त्री पाण्डे

surendra raj

गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् ।

संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस मुल समारोह कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले  आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताए । यो यात्रामा गण्डकी प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

उनले भने – ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता हो । संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल रहेको छ । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।’

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीको संवोधन

उपस्थित विशिष्ट महानुभावहरु, राष्ट्रसेवक साथीहरु एवं सञ्चारकर्मी मित्रहरु । 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुलुकको अग्रगामी परिर्वतनका लागि विभिन्न समयमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात महान शहीदहरुप्रति संविधान दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिहरु, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिहरुप्रति उच्च सम्मानसहित स्मरण गर्दछु ।

संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला हो । जसले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको छ । नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ । वर्तमान संविधानले निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्धारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।

भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा भएका आन्दोलनले हाम्रो समाजमा नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेका छन् । यस क्रममा सहादत प्राप्त गर्नुभएका युवापुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । 

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू लगायत राजनीतिक दलका नेता एवं अन्य घाइतेहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितहरूको न्याय सुनिश्चित गर्ने दिशामा आवश्यक पहल गर्न प्रदेश सरकारको तर्फबाट संम्बन्धित सबैसँग अनुरोध गर्दछु । 

जेनजी पुस्ताले उठाएका विषयहरू सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामुहिक जिम्मेवारी पनि हो । 

तथापी पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि प्राप्त उपलब्धि माथि प्रहार गर्ने, पूर्वाधार बिकासलाई ध्वंश पार्ने र नकारात्मक सोचलाई स्थापित गर्ने गरि गलत भाष्य निर्माण गरिएको छ । यस तर्फ सचेत रहँदै सकारात्मक सोच राखेर थप उपलब्धि हाँसिल गर्ने दिशामा अघि बढ्न विषेशत युवा पुस्तालाई म अनुरोध गर्दछु । 

  हामी सुशासन र पारदर्शितामा दृढ छौँ । गण्डकी प्रदेश सरकारले राईड शेयरिङ मार्फत युवाहरुलाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापन मार्फत शुसासन कायम गर्दै मितव्ययी शासन प्रणालीलाई अंगिकार गर्दै आएको सर्वविदितै छ । हामीले सुरु गरेका यी पहलहरू केवल प्रशासन सुधारको लागि मात्र होइन, युवा पुस्ताको आशा र विश्वास पूरा गर्न, प्रदेशको समुन्नतीकालागि पनि अत्यावश्यक छ ।

यस्ता सुधारका कामलाई अझै प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी ढङ्गले अघि बढ्ने हाम्रो प्रतिबद्धता हिजो पनि थियो र आज पनि स्पष्ट छ । यसका लागि सबैभन्दा ठूलो शक्ति जनताको सहयोग र सहभागिता अपरिहार्य रहन्छ । लोकतन्त्रमा नागरिकको आवाज र अधिकारको सम्मान गर्नुपर्ने दायित्व सरकारको रहन्छ । सरकारलाई झकझक्याउने, दवाव दिने माग पुरा गराउन संवैधानीक उपायहरु अबलम्बन गर्ने कार्य स्वागतयोग्य नै छन् । तर सार्वजनीक तथा निजी सम्पत्ती माथिको तोडफोड, आगजनी, लुटपाटलाई नियन्त्रण गर्दै नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूती दिलाउनु पनि सरकारको कर्तव्य हो । यस कार्यमा नागरिक सहयोग पहिलो आवश्यकता हो । 

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव        हुन्छ । त्यसैले हामी सबैले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । यो यात्रामा गण्डकी प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्नेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता छ । संविधानको भावनालाई जनताको जीवनमा महशुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशिल छ । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।

नागरिकको तिब्र बिकासको चाहना पुरा गर्न प्रदेश सरकारको सिमित साधन स्रोत बाट मात्र संभव छैन । यस्तो विषम परिस्थितीमा समेत नीति कार्यक्रम र बजेटलाई ब्यवस्थित बनाउँदै योजनाको सफल कार्यन्वयन गर्न गराउनमा प्रदेश सरकार प्रत्यत्नशिल रहँदै आएको छ । 

 पछिल्लो राजनीति घटनाक्रम र यसबाट उत्पन्न परिस्थतीपछि प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालयहरुबाट तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न गराउनमा प्रदेश सरकारले काम थालिसकेको छ । पुन निर्माणकालागि संघ सरकारले लिने नीति अनुसार समन्वय गर्दै हामी अघि बढ्नेछौँ । 

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरि आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिल्याएको छ । हजारौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका करदाता ब्यवशायीमाथिको आक्रमणको छानबिन गरि दोषिलाई कानूनी दायरामा ल्याउनु जरुरी छ । निजी क्षेत्र सँग सहकार्य गर्दै शान्त, सुरक्षित र लगानीमैत्री बतावरण निर्माण गर्न गण्डकी प्रदेश सरकार शक्रिय रहनेछ । निजी लगानीमा भएको क्षति प्रति प्रदेश सरकार संवेदनशिल छ । यस विषम परिस्थितिमा निजी व्यवशायी साथीहरुले उच्च मनोवलका साथ अगाडी बढ्न म अनुरोध गर्दछु । 

संविधानले अधिकार दिएको मात्र छैन, कर्तव्यवोध पनि देखाएको छ । संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने कुरा हामी सबैले आत्मसात् गर्नुपर्छ । संविधानको रक्षा र कार्यन्वयनकालागि म सबै राजनीतिक दल, राज्यका सबै निकाय, नागरिक समाज, युवापुस्ता सरोकारावाला सबैमा अनुरोध गर्दछु । 

देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्र्दभमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको मर्म र भावना तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माथि विचलन नआउने गरि निर्वाह गर्नुभएको अभिभावकत्वप्रति यस अवसरमा हार्दिक आभार प्रकट गर्दछु ।

अन्त्यमा, सबै प्रदेशवासी, दाजुभाई दिदिबहिनीहरु एकतावद्ध भई मन, वचन र कर्मले संविधानको मर्म भावनालाई व्यवहारमा रुपान्तरण गर्दै गण्डकी प्रदेश सरकारले लिएको आत्मनिर्भर र समुन्नत प्रदेश खुसी प्रदेशवासीको संकल्प पुरा गर्नमा सहकार्य गर्नुहुनेछ भन्ने विश्वाश सहित संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद । जय नेपाल ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ