स्याङ्जामा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार नियन्त्रण गर्न प्रहरीले पछिल्ला दिनमा कडाइ थालेको छ । यही क्रममा भीरकोट नगरपालिका –४ छाङ्छाङ्दीस्थित आँधीखोला किनारमा प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले आज बिहान करिब ४ बजे ग १ त ६६०५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । सो ट्याक्टर भीरकोट –४ का तेज नारायण श्रेष्ठको रहेको खुल्न आएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उक्त ट्याक्टरबाट बालुवा ओसारपसार भईरहेको अवस्थामा पक्राउ परेपछि प्रहरीले पटके कायम गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ ।
यसअघि, गत भदौ १० गते पनि दहथुम प्रहरी चौकीले ग १ त ४९४१ नम्बरको ट्याक्टर वालिङ नगरपालिका –१ ओडारेस्थित आँधीखोला किनारबाट नियन्त्रणमा लिएको थियो । सो क्रममा पनि अवैध नदीजन्य पदार्थ ढुवानीमा संलग्न रहेको भन्दै ट्याक्टरधनी तेज नारायण श्रेष्ठलाई ८ हजार रुपैयाँ जरिवाना तिराई छाडिएको थियो ।
त्यसैगरी, सोही दिन दिउँसो जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, भीरकोट नगर प्रमुख, पत्रकार र स्थानीयहरूको टोलीले संयुक्त रूपमा अनुगमन गर्दा पनि ठूलो मात्रामा बालुवा संकलन गरिएको फेला परेको थियो ।
अनुगमन टोलीले भीरकोट –४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर र वालिङ –११ मा १४०९.८५ घनमिटर बालुवा फेला पारेको हो । सो बालुवा तेज नारायण श्रेष्ठकै स्वामित्वमा रहेको प्रमाणित भएपछि, उनलाई ९० हजार ६६६ राजस्व र ९ हजार ६६ रुपैयाँ जरिवाना तिराई छाडिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।
प्रहरीका अनुसार नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानीमा संलग्न जो कोहीमाथि पनि अब कडा कारबाही गरिने भएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु