पोखरामा तिहारका लागि तोकियो ‘सयपत्री’को दाम, थुङ्गाको ५ रुपैयाँ र मालालाई १५० रुपैयाँ भन्दा बढी नपर्ने

व्यापार व्यवसाय

पोखरामा तिहारका लागि तोकियो ‘सयपत्री’को दाम, थुङ्गाको ५ रुपैयाँ र मालालाई १५० रुपैयाँ भन्दा बढी नपर्ने

pokhara sayapatri daam

आसन्न तिहार पर्वका लागि पोखरा महानगरपालिकाले सयपत्री फूलको बिक्री मूल्य निर्धारण गरेको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उपभोक्तालाई सहज बनाउने उद्देश्यले महानगरले पोखरामै उत्पादित फूललाई तीन प्रकारमा ग्रेडिङ गरी कारोबार मूल्य तोकेको हो।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य संघ, फ्लोरिकल्चर एसोसिएसन कास्की र कृषि ज्ञान केन्द्र कास्कीसँगको विस्तृत छलफलपछि यो निर्णय गरिएको हो।

निर्धारित मूल्यसूची अनुसार, ‘ए’ ग्रेडको १५ देखि २० ग्राम तौलको प्रति थुंगा फूललाई ५ रुपैयाँ र प्रति मालालाई १५० रुपैयाँ पर्नेछ।

यस्तै, ‘बी’ ग्रेडको १० देखि १५ ग्राम तौलको प्रति थुंगा फूलको मूल्य ४ रुपैयाँ र प्रति माला १३० रुपैयाँ तोकिएको छ। ‘सी’ ग्रेडको ५ देखि १० ग्राम तौलको प्रति थुंगा फूल २ रुपैयाँ र प्रति माला १०० रुपैयाँमा उपलब्ध हुनेछ।

यी तीनवटै ग्रेडका फूल प्रति केजी ३०० देखि ४०० रुपैयाँमा पाउन सकिने प्रमुख कडरियाले जानकारी दिए।

महानगरले पोखराका २५ भन्दा बढी स्थानहरूलाई सयपत्री फूलको बिक्री स्थल तोकेको छ। कात्तिक ३, ४ र ५ गते पोखराको बगर, महेन्द्रपुल, तालचोक, लगायतका किसान बजार र वडा कार्यालयहरूमा फूल खरिदबिक्री हुने व्यवस्था मिलाइएको छ।

यस वर्ष महानगरको सहयोगमा करिब ३०० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको छ। यसबाट ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।

महानगरपालिकाले विगत तीन वर्षदेखि बीउमा अनुदान, उत्पादनको बजारीकरणमा सहजीकरण र कृषकलाई न्यूनतम समर्थन मूल्य प्रदान गर्दै आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ