गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ, भन्छन्ः सरकारसँग डराउँदिनँ

राजनीति

गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ, भन्छन्ः सरकारसँग डराउँदिनँ

जलाइएको आफ्नै निवासबाट प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

dipak khadka

काठमाडौँ । निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै घरबाट लाइभ आएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आएका हुन् ।

केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले यो दाबी गरेका थिए । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले भनेका थिए ।

खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको बताए । उनले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने भन्दै तर यो विषयमा राजनीतिक दलहरूले समान धारणा बनाएर जानुपर्ने बताए ।

आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका हुन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’

उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे ।

‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरुले बाहिर निकाल्नुभयो ।’

पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो’, उनले भने, ‘त्यसपछि तराईतिर तीन-चार दिन बसेँ ।’

खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । त्यहाँ केही मन्त्रीहरुसँग भेटघाट भयो’, उनले भने । बच्चा, श्रीमती र आफू बिरामी भएको खड्काको भनाइ छ ।

उनले अहिलेको सरकारका विषमा टिका-टिप्पणी नगर्ने पनि बताए । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरुले, समाजमा रहेका नागरिकहरुले लिनुपर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ