स्याङ्जामा अब सवारी भाडा मनलाग्दी रूपमा बढाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सहायक मार्गहरूमा चल्ने बस, जिप, टेम्पो, अटो र ई–रिक्साका लागि नयाँ भाडादर तोकेर तत्कालै लागू गर्ने निर्णय गरेको छ ।
प्रशासनले पक्की सडकमा बसको प्रतिव्यक्ति प्रतिकिलोमिटर भाडा ५ रुपैयाँ ५० पैसा, र जिपको ६ रुपैयाँ कायम गरेको छ । कच्ची सडकमा भने बसले प्रतिकिलोमिटर ११, र जिपले १२ रुपैयाँसम्म लिन सक्नेछन् ।
टेम्पो, अटो र ई–रिक्साका लागि भने पक्की सडकमा ३ किलोमिटरभित्र यात्रु प्रतिकिलोमिटर ३०, र ३ किलोमिटरभन्दा बढी दूरीमा १० रुपैयाँका दरले थप भाडा लिने व्यवस्था गरिएको छ । कच्ची सडकमा भने ३ किलोमिटरसम्म ४० र सोभन्दा बढी दुरीमा १५ रुपैयाँका दरले थप्ने निर्णय गरिएको छ ।
साथै, सबै यातायात व्यवसायीले नयाँ भाडादर स्पष्ट देखिने गरी सवारीसाधन र टिकट काउन्टरमा टाँस्नुपर्नेछ । भाडादर लुकाउने, फरक दरमा भाडा असुल्ने वा यात्रु ठग्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने जनाएको छ ।
हाल कच्ची बाटो पक्की भएर पनि पुरानै दरमा भाडा असुल्ने गुनासो बढेपछि प्रशासनले अब यस्तो कार्य रोक्ने चेतावनी दिएको छ । पक्की सडकमा कच्ची सडक बराबरको भाडा उठाउनेलाई प्रहरीमार्फत कारबाही गरिने प्रशासनले जनाएको छ ।
जेष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई तोकिएको छुट अनिवार्य रूपमा लागू गर्नुपर्ने र यातायातमा छुटका सिट सुनिश्चित गर्नुपर्ने निर्णय पनि प्रशासनले गरेको छ । निजी प्रयोजनका रातो प्लेटका सवारी साधनले यात्रु ओसारपसार गरेमा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।
यसैगरी, पूर्वाधार विकास कार्यालय, यातायात शाखा स्याङ्जा र स्थानीय पालिकाको समन्वयमा टेम्पो दर्ता शुल्क निर्धारण गर्ने निर्णय गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले यातायात क्षेत्र पारदर्शी, यात्रुमैत्री र जिम्मेवार बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा