स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले बुधबारदेखि औपचारिक रुपमा ‘साउण्ड हिलिङ’ अर्थात् ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको छ । अर्जुनचौपारी -१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्य दुवैलाई जोड्दै नयाँ सेवा संचालनमा ल्याएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अहिलेको जटिल सामाजिक तथा आर्थिक अवस्थाले मानिस शारीरिक, मानसिक र आध्यात्मिक रूपमा थकित बन्न थालेको उल्लेख गर्दै ध्वनि चिकित्सा यस्तो असन्तुलन हटाउने प्रभावकारी विधि भएको बताए । उनका अनुसार विभिन्न सप्तधातुबाट बनेका उपकरण प्रयोग गरी शरीर, मन र आत्मालाई शुद्ध गर्दै ‘सप्तचक्र’ सक्रिय बनाउने र सकारात्मक ऊर्जा प्रदान गर्नु साउण्ड हिलिङको प्रमुख उद्देश्य हो ।
“मन्दिरमा आउने भक्तजनलाई आध्यात्मिक शान्तिसँगै आधुनिक शैलीको उपचार अनुभव दिलाउने उद्देश्यले यो सेवा सुरु गरेका हौँ,” अध्यक्ष तिवारीले भने, “नवग्रहमा दर्शन गर्न आउने भक्तजनदेखि हिलिङ चाहने जो कोहीले अब यो सेवा सहज पाउनेछन् ।” स्थानीय तहबाट पहिलोपटक नेपालमै स्थापना भएको यो सेन्टरलाई ‘वेलनेस टुरिजम’को गन्तव्यका रूपमा विकसित गर्नेगरी यो योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष तिवारीले जानकारी दिए ।
सुरुवातको पहिलो दिनमै सेवामा सहभागी भक्तजनहरू उत्साहित देखिन्थे । स्थानीय भक्त सन्दिप रोकाहाले भने, “पहिलो पटक यस्तो सेवा मन्दिरमै पाउँदा निकै नयाँ अनुभव भयो । शारीरिक तनाव पनि यहाँ आधा घण्टा बस्दा कम भएजस्तै लाग्यो, शरीर हलुका र मन त झनै शान्त भयो ।”
गाउँपालिकाले साउण्ड हिलिङ सेवा दैनिक रूपमा चलाइने र शनिबारबाहेक अन्य दिनमा अन-कलका आधारमा समय व्यवस्थापन गरी चलाइने जनाएको छ । सेवा लिन आउने भक्तजनका लागि छुट्टै ध्यानकक्ष, आवश्यक उपकरण तथा तालिमप्राप्त जनशक्ति परिचालन गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।
ध्वनि चिकित्सामा विशेष प्रकारका सिङ्गिङ बोल, घन्ट, घण्टी, तिब्बती कटोरी जस्ता उपकरण प्रयोग गरिन्छ । तिनबाट निस्किने कम्पनले शरीरका अवरोधित ऊर्जा बिन्दुहरू खुल्ने र तन्तुहरू आराम पाउने बताइन्छ । साउण्ड हिलिङले मानिसको मनोभाव, तनाव, निद्रा र उर्जामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
विशेषगरी पछिल्ला समयमा नेपालमा वैकल्पिक चिकित्सा उपचारप्रति आकर्षण बढिरहेको बेला नवग्रह मन्दिरमा सुरु भएको यो पहल स्थानीयदेखि बाहिरका भक्तजनलाई पनि केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा