म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको ‘तीनचुले’ पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । समुद्री सतहबाट २ हजार ९३२ मिटर उचाइमा अवस्थित यो ठाउँबाट हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य देखिने भए पनि प्रचारप्रसार अभावमा ओझेलमा छ ।
घना जंगलको बीचमा रहेको यो क्षेत्रमा पूर्वाधार विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन स्थानीय तह र समुदाय सक्रिय भएका छन् । तीनचुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीका अनुसार यहाँको सम्भावना र सौन्दर्य स्थानीयस्तरमै सीमित छ । ‘हरेक वर्षको कात्तिक शुक्ल पूर्णिमाका दिन तीनचुले बराहतालमा तोरण तार्ने धार्मिक मेलामा ताराखोला र मंगलाका बासिन्दा उपस्थित हुनेबाहेक अन्य समयमा पर्यटक आउन सकेका छैनन्,’ उनले भने, ‘आधारभूतस्तरको पूर्वाधार तयार पारेर तीनचुलेमा पर्यटक भित्र्याउने प्रयासमा छौं ।’
पूर्वाधारमा लगानी
गण्डकी प्रदेश सरकार, स्थानीय तह र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण तीव्र पारिएको छ । ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तीनचुले जोड्ने ५ किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ७५ लाख र ताराखोला गाउँपालिकाको १० लाख रुपैयाँ लगानीमा सडक बनेपछि २ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । यस्तै, मंगला गाउँपालिका–५ देउरालीदेखि तीनचुले जोड्ने ७ किलोमिटर सडक पनि निर्माण भएको छ ।
ताराखोला गाउँपालिकाको २० लाख रुपैयाँ बजेटबाट गत आर्थिक वर्षमा शिवालय मन्दिर पुनर्निर्माण गरिएको छ भने माझखर्कदेखि तीनचुलेतर्फ जाने २१० मिटर पदमार्गमा स्लेट ढुंगा बिछ्याइएको छ । खानेपानीका लागि गण्डकी प्रदेश सरकारको २१ लाख रुपैयाँ लगानीमा सौर्य ऊर्जा प्रयोग गरी लिफ्टिङ प्रविधि जडान गरिएको छ । चैतेथरीको मुहानबाट २ हजार २०० मिटर लामो पाइपमार्फत पानी ल्याएर ५ हजार लिटर क्षमताको ट्यांकीमा संकलन गरी वितरणको व्यवस्था मिलाइएको छ ।
स्थानीयले चन्दा संकलन गरेर माझखर्कमा वनभोजस्थल र आश्रयस्थल निर्माण गरेका छन् । दृश्यावलोकनस्थल निर्माणका लागि फेसबुक अभियानमार्फत करिब ३ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ ।
धार्मिक तथा प्राकृतिक महत्त्व
तीनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखला अवलोकन गर्न सकिन्छ । मंगला गाउँपालिका–२ का हरि भट्टराईका अनुसार यहाँबाट नागबेली परेको म्याग्दी नदी र पहाडी भूगोलको दृश्य हेर्न सकिन्छ ।
यहाँको बराहतालमा हरेक वर्ष कात्तिक पूर्णिमाका दिन तोरण तार्ने चलन छ । ताराखोलाका भपिन्द्र घर्तीमगरले चुलो आकारका ३ वटा ढुंगाका थुम्का भएकाले यसको नाम तीनचुले रहन गएको किंवदन्ती सुनाए । ‘शान्त र एकान्त ठाउँ भएकाले यहाँ ऋषिमुनिहरू तपस्या गर्न आउँथे । सोही क्रममा मन्दिर र आश्रय स्थापना भई पूजाआजा गर्न थालिएको हो,’ उनले भने । विसं २०२४ देखि यहाँ मेला लाग्ने र रातभर जाग्राम बस्ने चलन सुरु भएको हो ।
अन्तरपालिका पर्यटन सञ्जाल
तीनचुलेले बागलुङ र म्याग्दीबीचको सम्बन्ध सेतुको काम गरेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल) ले अर्गलस्थित सहिद पार्कदेखि गुरिल्ला पदमार्गका रूपमा तीनचुले, हिले र दुरलेक जोड्ने योजना रहेको बताए ।
मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पनि तीनचुलेलाई केन्द्र बनाएर ७ देखि १० दिनको नयाँ पदमार्ग बनाउन छिमेकी पालिकाहरूसँग छलफल भइरहेको जानकारी दिए । ‘पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार विकास र ग्रामीण क्षेत्रमा रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गराउन सम्भव हुन्छ,’ रोकाले भने ।
कसरी पुग्ने ?
तीनचुले पुग्न म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि किमचौर हुँदै २ घण्टा कच्ची सडकको यात्रा गर्नुपर्छ । ताराखोलातर्फबाट दोगाडी र नागबेलीखोला हुँदै माझखर्कसम्म पुग्ने सडक सुविधा छ । ‘क्याम्पिङ’ र पदयात्रा रुचाउनेहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ ।रासस
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’