पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। एक जनालाई भने धरौटीमा रिहा गरिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका–चोरी सम्बन्धी अभियोगमा उनीहरूलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको हो। २४ भदौको जनजी आन्दोलनको दोस्रो दिन सिंहदरबारदेखि पोखराबाट सुरु भएको तोडफोड र आगजनीका क्रममा मेयर आचार्यको निजी घर, सरकारी गाडी र महानगर कार्यालयमा व्यापक क्षति पुगेको थियो।
आन्दोलनकारीहरूले दिउँसो घरमा तोडफोड गरी लुटपाट गरेका थिए, र राति पुनः फर्किएर घरमा आगजनी गरेका थिए। मेयर आचार्यले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध फोटो तथा भिडियोसहित किटानी जाहेरी दिएका थिए। त्यसलगत्तै प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
थुनामा पठाइएकामध्ये रास्वपा पोखरा–१० का वडा सभापति चन्द्रबहादुर थापा ‘राइ’ पनि छन्। आगजनीमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो। थुनामा पठाइएकामध्ये एक जना नाबालक, बिमला सापकोटा (विना मल्ल) र चीनबहादुर खवास (बुद्ध खवास ठकुरी) पनि छन्।
एकै परिवारका दाजुभाइमध्ये दाइ चन्द्रबहादुर पुर्पक्षमा थुनामा गए भने भाइ हरिबहादुर थापा (खली) २ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अदालतले उनीहरूलाई मेयरको घरभित्र रहेका सामान जलाएको र लुटपाट गरेको प्रमाण रहेको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जनजी आन्दोलनका क्रममा कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्, जसमध्ये १४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए। कास्कीमा मात्र सरकारी, निजी र व्यावसायिक संरचना गरी १ सय १६ सरकारी कार्यालयसहित व्यापक क्षति भएका छन्। सरकारी संरचनामात्रै जल्दा करिब सवा २ करोडको क्षति पुगेको अनुमान गरिएको छ भने निजी क्षेत्रले करिब साढे ३ अर्ब रुपैयाँको क्षति भएको दाबी गरेका छन्।
२४ भदौको मध्यान्हपछि सुरु भएको सरकारी तथा निजी सम्पत्ति ध्वंस अभियानको क्रममा होटल, रिसोर्ट, व्यावसायिक प्रतिष्ठानदेखि राजनितिक नेतृत्वको घरसमेत क्षतिग्रस्त भएका थिए। प्रहरीले किटानी जाहेरीका आधारमा थप पक्राउ प्रक्रिया जारी राखेको जनाएको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?