स्याङ्जाको दक्षिणी भेग चापाकोटमा यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म ‘तेस्रो चापाकोट महोत्सव–२०८२’ हुने भएको छ । कालीगण्डकी नदीको किनारमा रहेको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा महोत्सव सञ्चालन गरिने भएको हो ।
‘हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान’ भन्ने नारालाई आत्मसाथ गर्दै ‘चापाकोट महोत्सवको आधार, कृषि पर्यटन आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने मूल नारासहित चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा नगरस्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाका रूपमा महोत्सव हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष निर्मल राना मगरले बताए ।
महोत्सवमा कृषि उत्पादन तथा पशुपंक्षी प्रदर्शनी, औद्योगिक तथा व्यापारिक स्टल, हस्तकला प्रदर्शनी, पर्यटन फोटो प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीलगायत विविध कार्यक्रम समेटिने अध्यक्ष मगरले बताए । साथै, महोत्सवमा स्थानीय जातजातिको कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन, रत्यौली, मावि स्तरीय हाजिरीजवाफ, जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा ‘तेस्रो चापाकोट डान्स आइडल’ जस्ता प्रतिस्पर्धात्मक कार्यक्रम पनि रहनेछन् ।
बालबालिकालाई लक्षित बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कृषि विज्ञ र अगुवा किसानबीच अन्तरक्रिया कार्यक्रमसमेत महोत्सवका आकर्षण हुने आयोजकले जनाएको छ । आकर्षक प्रवेशद्वारसँगै लन्डन ब्रिज र इफिल टावरको संरचना, गण्डकी बेसिका रमणीय स्थलहरूको हेलिकप्टरमार्फत दृश्यावलोकन, कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) र उपयुक्त स्थानबाट प्याराग्लाइडिङमार्फत महोत्सव अवलोकन गर्ने व्यवस्था पनि मिलाइने आयोजकको भनाइ छ ।
करिब २५० स्टल रहने अनुमान गरिएको महोत्सवमा एक लाखभन्दा बढी दर्शक भित्र्याउने र एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सव अवधिभर सुरक्षा व्यवस्था कडा बनाइने र बीमाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
टिकट दर साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ । व्यक्तिगत तथा व्यवसायिक पास ६०० रुपैयाँमा उपलब्ध हुनेछन् ।
महोत्सवबाट प्राप्त आम्दानी व्यवसायिक हितकोष स्थापना, खेलमैदान व्यवस्थापन, शैक्षिक पुरस्कार तथा छात्रवृत्ति र चापाकोट उद्योग वाणिज्य संघको भवन निर्माणमा खर्च गर्ने लक्ष्य रहेको आयोजक चापाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी