स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित ऐतिहासिक आँधीखोलाको किनारमा नवौं संस्करणको वालिङ महोत्सव आयोजना हुने भएको छ । ‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित आगामी माघ १४ देखि २५ गतेसम्म महोत्सव वालिङ खेलमैदानमा सञ्चालन हुने भएको हो ।
महोत्सव प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक एवं औद्योगिक व्यापार मेलाको रूपमा प्रस्तुत गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको वालिङ महोत्सव यसपटक पनि समृद्ध वालिङको लक्ष्यसहित आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्यमा केन्द्रित छ ।
महोत्सवले कृषि, हस्तकला, सेवा, उद्योग र व्यापारसँगै शिक्षा, सूचना प्रविधि र पर्यटनलाई एउटै थलोमा जोड्ने प्रयास गरिएको महोत्सवका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष शोभाकान्त पौडेलको भनाइ छ । नेपाल सरकारले अघि सारेको वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गर्ने लक्ष्यमा महोत्सवले थप ऊर्जा दिने अपेक्षा समेत गरिएको छ ।
यो महोत्सव व्यापार मात्रै होइन, संस्कृति र सम्भावनाको उत्सव रहेको बताउँदै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले महोत्सवमार्फत वालिङ र स्याङ्जाको दीर्घकालीन विकासका लागि साझा प्लेटफर्म बनाउने लक्ष्य रहेको बताए ।
महोत्सवमा कृषि तथा स्थानीय हस्तकलाका स्टल, सेवा तथा औद्योगिक गरी करिब ३५० व्यापारिक स्टल सहभागी हुनेछन् । महोत्सवमा विभिन्न जातजातिको भेषभूषा, कला तथा संस्कृति, पशुपंक्षी प्रदर्शनी, सुन्तला, ताजा तरकारी, कफी, अदुवा तथा जडिबुटी प्रदर्शनी विशेष आकर्षण रहनेछन् । शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीका नवीन आविष्कार, पुस्तक प्रदर्शनी र शैक्षिक सामग्रीसमेत प्रस्तुत गरिनेछ ।
महोत्सवको तयारी तीव्र गतिमा अघि बढेको बताउँदै संघका महासचिव तथा महोत्सव सचिवालय व्यवस्थापन उपसमितिका संयोजक रमेश अर्यालले सबै संघसंस्था, सरकारी निकाय र समुदायको सहकार्यमा व्यवस्थित र अनुशासित महोत्सव प्रस्तुत गर्ने बताए ।
यसैगरी, महोत्सवमा मनोरञ्जनतर्फ स्याङ्जा डान्स आइडल सिजन–४, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स, टिकटक, भजन, रत्यौली र लोक-दोहोरीगीत प्रतियोगितासहित स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । पर्यटन प्रवर्द्धनका लागि जिल्लाका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी र होमस्टे आवास व्यवस्थासमेत मिलाइनेछ । महोत्सव अवधिभर निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
महोत्सवले वालिङको पहिचानलाई अझ मजबुत बनाउने साथै कृषि र स्थानीय उत्पादनलाई बजारसँग जोड्दै बाह्य लगानी भित्र्याउने प्राथमिकता रहेको संघका सचिव तथा महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक पिताम्बर खनालको भनाइ छ ।
बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ तोकिएको छ भने राति १० बजेसम्म हुने कन्सर्टका दिनका लागि भने अपराह्न ५ बजेपछि प्रवेश शुल्क २५० रुपैयाँ तोकिएको छ । यस्तै, महोत्सव अवधिभरका लागि स्थायी पास ५०० रुपैयाँमा उपलब्ध हुने आयोजकले जनाएको छ ।
करिब तीन लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र महोत्सव अवधिभर १० करोडभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट एक करोड ६८ लाख आम्दानी र एक करोड १४ लाख ५१ हजार खर्चपछि ५३ लाख ४९ हजार अर्थात् झण्डै ५४ लाख रुपैयाँ बचत गर्ने लक्ष्य आयोजक संघले राखेको छ ।
महोत्सवबाट आम्दानी र खर्च कटाएर बाँकी रहने रकमको १५ प्रतिशत व्यवसायिक हितकोषमा राखिने र बचत रकममध्ये ५० प्रतिशत खेलमैदानका लागि जग्गा खरिदमा खर्च गर्ने योजना बनाइएको छ । यस्तै, ३५ प्रतिशत रकम संघका चालू दायित्वहरू चुक्ता गर्दै संस्थागत र व्यवसायिक हितका काममा उपयोग गरिने संघले जनाएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस