स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ की ८० वर्षीया पवित्रादेवी विकले लामो समयपछि संसार देख्न पाएकी छन् । करिब एक दशकदेखि कमजोर हुँदै गएको दृष्टि पाँच वर्षअघि दुवै आँखामा मोतीविन्दु देखिएपछि पूर्ण रूपमा गुमेको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण पोखरा पुगेर उपचार गर्न नसकेकी विकले गाउँमै निःशुल्क शल्यक्रिया भएपछि पुनः आँखाले साथ दिएको बताइन् ।
पालिकाको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा यहाँको वडा नं. २ मा आयोजित शिविरमा विकको दुवै आँखाको सफल शल्यक्रिया गरिएको हो । पहिले शौचालय जानसमेत परिवारको सहारा चाहिने अवस्था रहेको उल्लेख गर्दै उनले उपचारपछि आफैं हिँडडुल गर्न सक्ने भएको खुशी व्यक्त गरिन् । एक पटक पोखरा पुगेर पनि रकम अभावमा औषधि मात्र लिएर फर्किनुपरेको पीडा उनले सम्झिन् ।
उक्त शिविरबाट वडा नं. ६ का ८१ वर्षीय छविलाल देवकोटाले पनि ठूलो राहत पाएका छन् । यसअघि पोखरा पुगेर दाहिने आँखाको शल्यक्रिया गर्दा ३० हजार रुपैयाँ खर्चिनुपरेको अनुभव सुनाउँदै उनले पालिकामै देब्रे आँखाको निःशुल्क शल्यक्रिया दुई दिनमै सफल भएको बताए । पैसा र समय दुवै जोगिएको भन्दै देवकोटाले गाउँमै सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिए । शिविरमा ८८ वर्षीय प्रेमबहादुर गुरुङ र ४० वर्षीय सन्तोष गुरुङको पनि मोतीविन्दुको शल्यक्रिया गरिएको थियो ।
पुस ७, ८ र ९ गते वडावडामा सञ्चालन गरिएको आँखा उपचार कार्यक्रममा ५७३ जनाले सेवा लिएका थिए । जसमध्ये ७६ जनामा मोतीविन्दु पहिचान भएको र पुस १५ र १६ गते गरी ६१ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित वृद्धवृद्धालाई गाउँमै पुगेर पहिचान गरी सेवा दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । नागरिकलाई रोगले थिच्न नदिने पालिकाको लक्ष्य रहेको उल्लेख गर्दै तिवारीले समस्या परेमा तुरुन्त जानकारी गराउन आग्रह समेत गरे । शिविरमा डा. कृष्ण गुरुङले सबै बिरामीको सफल एसआइसिएस प्रविधिबाट शल्यक्रिया गरेकी थिइन् ।
यस कार्यक्रमले ग्रामीण र आर्थिक रूपमा कमजोर नागरिकलाई ठुलो राहत पुगेको छ । स्थानीयले गाउँमै गुणस्तरीय सेवा पाउँदा पालिकाको पहललाई प्रशंसा गरेका छन् भने गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु