स्याङ्जाको दक्षिणी भेग चापाकोटमा तेस्रो चापाकोट महोत्सव–२०८२ आजदेखि सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा रहेको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले गरेका हुन् । महोत्सव आगामी माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले स्थानीय उत्पादन र पहिचानसँग जोडिएका महोत्सवले क्षेत्रीय अर्थतन्त्र मजबुत बनाउने उल्लेख गरे । “स्थानीय स्रोत, सीप र संस्कृतिको प्रवर्द्धन बिना समृद्धि सम्भव हुँदैन,” उनले भने, “यस्ता महोत्सवले पर्यटनसँगै रोजगारी सिर्जना र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन् ।”
महोत्सवमा कृषि उत्पादन तथा पशुपंक्षी प्रदर्शनी, औद्योगिक तथा व्यापारिक स्टल, हस्तकला र पर्यटन फोटो प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीलगायत कार्यक्रम समावेश छन् । सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न जातजातिको कला र संस्कृति झल्किने प्रस्तुति रहनेछ भने भजन–कीर्तन, रत्यौली, माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा ‘तेस्रो चापाकोट डान्स आइडल’ पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
बालबालिकाका लागि छुट्टै बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट दैनिक सांगीतिक प्रस्तुति, कृषि विज्ञ र अगुवा किसानबीच अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । साथै महोत्सवमा आकर्षक प्रवेशद्वार, लन्डन ब्रिज र इफिल टावरको नमुना संरचना समेत रहेका छन् । महोत्सवमा गण्डकी बेसिका रमणीय स्थलको हेलिकप्टर दृश्यावलोकन, कालीगण्डकीमा जलयात्रा र उपयुक्त स्थानबाट प्याराग्लाइडिङमार्फत महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
‘हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा नगरस्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाका रूपमा महोत्सव गरिएको हो । स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव गरिएको संघका अध्यक्ष निर्मल राना मगरले बताए ।
झण्डै २५० स्टल रहेको महोत्सवमा एक लाखभन्दा बढी दर्शक भित्र्याउने र एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै बीमाको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
महोत्सव प्रवेश शुल्क साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ रहेको छ । महोत्सवबाट करिब एक करोड रुपैयाँ आम्दानी हुने र ७९ लाख ४० हजार खर्च भई २० लाख १० हजार बचत हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट संकलित आम्दानी व्यवसायिक हितकोष, खेलमैदान व्यवस्थापन, शैक्षिक पुरस्कार तथा छात्रवृत्ति र संघको भवन निर्माणमा खर्च गर्ने बताइएको छ ।
र्यालीसहित सुरु गरिएको उद्घाटन कार्यक्रममा विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघसंस्थाले आ–आफ्नो मौलिक संस्कृति झल्कने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो