स्याङ्जाको बिरुवा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजामा थप सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई प्रतिदिन पाँच रुपैयाँ थप अनुदान दिएर दिवा खाजाको दर २५ रुपैयाँ पुर्याएको हो ।
यसअनुसार पालिकाभित्रका ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थी लाभान्वित भएका छन् । संघीय सरकारले उपलब्ध गराउँदै आएको २० रुपैयाँमा पालिकाले थप रकम जोडेपछि विद्यालयमै नियमित रूपमा खाजा खुवाउने व्यवस्था मिलाइएको हो ।
विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने र बालबालिकाको पोषण अवस्था सुधार्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए । अनुदान रकम सम्बन्धित विद्यालयमार्फत विद्यार्थीको दिवा खाजामै खर्च भइरहेको उपाध्यायले बताए ।
शिक्षासँगै बालबालिकाको स्वास्थ्यमा ध्यान दिनु स्थानीय सरकारको दायित्व भएको बताउँदै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले सानो देखिए पनि यस सहयोगले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र पोषणमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको बताए ।
कार्यक्रम कार्यान्वयनमा पारदर्शिता अपनाइएको उल्लेख गर्दै अध्यक्ष कुँवरले अनुदान रकम सही प्रयोजनमा खर्च होस् भनेर नियमित अनुगमन गरिँदै आएको बताए । शिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले बताए ।
पालिकाले हाजिरीको आधारमा बढीमा एक विद्यार्थीका लागि १८० दिनसम्म खाजा खर्च व्यवस्थापन गर्दै कुल चार लाख ९८ हजार ६ सय रुपैयाँ विनियोजन गरेको छ । पहिले संघीय सरकारले दिएको खाजा खर्च अभिभावकले लैजाने गरेकामा अहिले पालिकाको थप सहयोगपछि विद्यालयमै दैनिक तालिका बनाएर खाजा खुवाउने गरिएको छ । गाउँपालिकाको यो निर्णयलाई अभिभावक र विद्यालय प्रशासनले सकारात्मक रूपमा लिएका छन् ।
सम्बन्धित खबर
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल