आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ । अपेक्षित संख्यामा आवेदन नपरेपछि गृहमन्त्रालयको निर्देशनअनुसार भर्ना प्रक्रिया माघ ३ गतेसम्म लम्ब्याइएको हो ।
यसअघि पुस २४ गते सूचना प्रकाशित गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त लिने व्यवस्था गरिएको थियो । तर आवेदन संख्या कम भएपछि समय थप्नुपरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निर्वाचन सेल प्रमुख प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसोसम्म नेपाल प्रहरीतर्फबाट एक हजार १८ जनाले आवेदन दिएका छन् । स्याङ्जामा कुल २ हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ ।
यसपालि निर्वाचन सुरक्षामा खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ अनुसार भर्ना प्रक्रिया चलिरहेको प्रहरी निरीक्षक नेपालीले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट फारम वितरण भइरहेको छ । फारम वितरण हुने स्थानमै बुझाउन सकिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
निर्वाचन प्रहरी बन्न साधारण लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका समयमा राजनीतिक दलको सदस्य नभएको, साथै शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त तोकिएको छ । आतङ्ककारी वा विध्वंसात्मक गतिविधिमा संलग्न नरहेको हुनुपर्ने व्यवस्था पनि छ ।
भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी तथा वन रक्षकबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिइनेछ । यसअघि भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।
निर्वाचन प्रहरीका लागि आवेदन निःशुल्क गरिएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ । माघ ३ गतेसम्म आवेदन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिएको छ ।
नियुक्ति पाएपछि निर्वाचन प्रहरीले ४० दिनसम्म काम गर्नुपर्नेछ । उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक पाउनेछन् । साथै खाद्यान्न खर्च, आवतजावत तयारी खर्च र खाजा खर्चसमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति