वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापालाई टिकट दिएको हो ।
गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुन् । नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्षको जिम्मेवारी लिइसकेका गुरुङले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्व लिएर काम गरेको अनुभव छ । त्यस्तै, क्षेत्र नं २ मा छनोट भएका थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष हुन् । विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा थापा विजयी भएका हुन् ।
दोस्रो पटक गाउँपालिकाको अध्यक्षका रूपमा बहालवाला रहँदारहँदै थापालाई पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यमा छनोट गरेको हो । प्रतिनिधिसभा सदस्यमा छनोट भएसँगै गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय हुने उनले बताए । थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव र नेकपा एमालेको केही समयअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी भएका थिए ।
स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनका गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसपटकको निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता छन् ।
विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना मतदाता छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् ।
सम्बन्धित खबर
एमालेबाट स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापा उम्मेदवार
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
बिरुवामा अवैध चार नाल भरुवा बन्दुकसहित तीन जना पक्राउ
नेकपाका स्याङ्जा क्षेत्र नम्बर १ बाट घिमिरे र क्षेत्र नम्बर २ बाट विश्वकर्मा उम्मेदवार
रास्वपा स्याङ्जा उम्मेदवार: क्षेत्र १ मा रेग्मी र क्षेत्र २ मा डुम्रे
स्याङ्जामा कांग्रेसका उम्मेदवार टुंगिए, क्षेत्र १ मा ढकाल र क्षेत्र २ मा मल्ल
यो पनि पढौँ
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी