वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापालाई टिकट दिएको हो ।
गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुन् । नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्षको जिम्मेवारी लिइसकेका गुरुङले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्व लिएर काम गरेको अनुभव छ । त्यस्तै, क्षेत्र नं २ मा छनोट भएका थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष हुन् । विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा थापा विजयी भएका हुन् ।
दोस्रो पटक गाउँपालिकाको अध्यक्षका रूपमा बहालवाला रहँदारहँदै थापालाई पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यमा छनोट गरेको हो । प्रतिनिधिसभा सदस्यमा छनोट भएसँगै गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय हुने उनले बताए । थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव र नेकपा एमालेको केही समयअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी भएका थिए ।
स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनका गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसपटकको निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता छन् ।
विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना मतदाता छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु