नवौं संस्करणको वालिङ महोत्सव सुरु

नवौं संस्करणको वालिङ महोत्सव सुरु

Ninth edition of Walling Festival begins

स्याङ्जाको वालिङ नगरपालिकामा बुधबारदेखि नवौं संस्करणको वालिङ महोत्सव सुरु भएको छ । वालिङस्थित मालेबगर खेल मैदानमा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय महोत्सव ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित सञ्चालनमा आएको हो ।

महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने बताए ।

महोत्सवमा कृषि, हस्तकला, सेवा, औद्योगिक तथा व्यापारिक क्षेत्रका विभिन्न स्टलहरू राखिएका छन् । कृषि, कृषि औजार तथा हस्तकलासम्बन्धी ४० भन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइएको छ भने स्थानीय व्यापारीहरूका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

महोत्सवबाट एक करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको संघका सचिव तथा महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालले जानकारी दिए । महोत्सव सञ्चालनका लागि एक करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च हुने र ५३ लाख ४९ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

नवौं वालिङ महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको अल्पकालीन कारोबार हुने र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सवका रूपमा चिनिँदै आएको यो महोत्सव माघ २५ गतेसम्म १२ दिन सञ्चालन हुने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds