स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

Polling stations in Syangja are being monitored

मतदान स्थल अनुगमन गरिँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका ५६ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा रहेका कुल १ सय ९९ मतदान स्थलमध्ये ७१ वटा संवेदनशील र ७२ वटा सामान्य सूचीमा परेका छन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

प्रजिअ अर्यालका अनुसार सडक र यातायातको पहुँच, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, अघिल्ला निर्वाचनमा देखिएका गतिविधि र समग्र सुरक्षा अवस्थालाई मुख्य आधार बनाएर संवेदनशीलता निर्धारण गरिएको हो । उनले भने, “मतदान स्थलको प्रकृतिअनुसार फरक–फरक सुरक्षा योजना बनाइएको छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउनेतर्फ प्रशासनको तयारी केन्द्रित छ ।”

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रहेका राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको पनि प्रशासनले जनाएको छ ।

मतदानस्थलको अवस्थाबारे यथार्थ जानकारी लिन जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति र निर्वाचन अधिकृतको संयुक्त टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरिरहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदान स्थलमा यसपटक ३ सय २२ मतदान केन्द्र तोकिएका छन् । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई मतदान केन्द्र थपिएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए । जिल्ला कारागार स्याङ्जामा भने एक अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ ।

यस निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाताले मतदान गर्न पाउनेछन् । जिल्लामा पुरुष मतदाता १ लाख २२ हजार ४६४, महिला मतदाता १ लाख २६ हजार ३५१ रहेका छन् भने अन्य समूहका एक जना मतदाता पनि सूचीमा समावेश छन् ।

निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds