बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग

ध्यानाकर्षण

बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग

nepas gandaki 1

पोखरा । नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS), गण्डकी प्रदेशले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारहरुलाई बाल स्वास्थ्य र बालअधिकार सम्बन्धी आवश्यक नीतिहरु आफ्ना प्रतिवद्धतापत्रमा समावेश गर्न माग गरेको छ ।

NEPAS गण्डकी संयोजक एवं प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले बाल स्वास्थ्य र बाल अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राखिनु अत्यावश्यक रहेकाले सोसाइटीले समयमै यसतर्फ ध्यानाकर्षण गराउनुपरेको बताएका छन् ।

सोसाइटीले नेपालको दीर्घकालीन सामाजिक, आर्थिक र मानवीय विकास आजका बालबालिकाको स्वास्थ्य, पोषण, स्वास्थ्य बाताबरण तथा सफा मानसिक अवस्था र समग्र विकासमा निर्भर रहेको जनाउँदै दल र उम्मेदवारका घोषणा पत्रमा बाल स्वास्थ्यलाई प्राथमिकता दिन र निर्वाचनपछि यसको कार्यान्वयनमा जोड दिएको हो ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरिसकेको छ । यस्तै, नेपालको संविधान २०७२ ले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, सफा हावा, संरक्षण तथा विकासलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । साथै, दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म मातृ, नवजात, शिशु तथा पाँच वर्षमुनिका बाल मृत्युदर न्यूनीकरण, कुपोषण अन्त्य र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । यी सबै हिसाबले पनि बालअधिकार र स्वास्थ्य दलको घोषणा पत्रमा समेटिनु पर्ने सोसाइटीको भनाई छ ।

सोसाइटीले नेपालका बालबालिकाहरू अझै पनि कुपोषण, रोकथामयोग्य रोग, नवजात तथा शिशु मृत्युदर, मानसिक स्वास्थ्य समस्या, अपाङ्गता, हिंसा, बालविवाह, बालश्रम तथा स्वास्थ्य सेवामा असमान पहुँचजस्ता गम्भीर चुनौतीको सामना गरिरहेको जनाएको छ । भौगोलिक, सामाजिक र आर्थिक असमानताका कारण दुर्गम क्षेत्र, शहरी गरिब बस्ती, दलित, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायका बालबालिका विशेष रूपमा जोखिममा रहेको सोसाइटीको धारणा छ ।

सोसाइटीले सबै दलका घोषणापत्रमा बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरेको छ । यसमा बालबालिकाको स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य र विकासलाई राष्ट्र निर्माणको आधारस्तम्भका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिइएको छ ।

यस्तै, मातृ, नवजात, शिशु तथा किशोर स्वास्थ्यमा लगानी बढाउनुपर्ने जनाउँदै नवजात तथा बाल मृत्युदर न्यूनीकरण र किशोर तथा मानसिक स्वास्थ्य सेवाको विस्तारका लागि पर्याप्त सार्वजनिक लगानी गर्ने प्रतिबद्धता माग गरेको छ ।

यसैगरी, कुपोषण अन्त्यका लागि बहु–क्षेत्रीय दृष्टिकोण समावेश गर्नुपर्ने माग गरेको छ । यसका लागि पोषण, शिक्षा, पानी–सरसफाइ र सामाजिक सुरक्षालाई एकीकृत गर्दै कुपोषण अन्त्यका कार्यक्रम समावेश गर्न भनेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच बृद्धिमा जोड दिँदै सबै बालबालिकाका लागि निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, विशेषगरी दुर्गम र सीमान्तकृत समुदायका लागि लक्षित कार्यक्रम ल्याउनुपर्ने सोसाइटीको माग छ ।

केन्द्रीय अध्यक्ष डा. अरुण कुमार न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ‘नेपालको भविष्य आजका बालबालिकामा निर्भर छ । बालमैत्री नीति, कार्यक्रम र लगानीले मात्र स्वस्थ, सक्षम र उत्पादनशील पुस्ता निर्माण सम्भव हुन्छ । नेपाल पेडियाट्रिक सोसाइटी सबै राजनीतिक दलहरूलाई निर्वाचन घोषणापत्रमार्फत बाल स्वास्थ्य र बाल अधिकारप्रति स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य प्रतिबद्धता जनाउन आह्वान गर्दछ । यस अभियानमा नीतिगत संवाद, प्राविधिक सहयोग र सहकार्यका लागि हामी सधैं तत्पर रहेको स्पष्ट पार्दछौं ।’

बाल अधिकार संरक्षण र सुरक्षाको ग्यारेन्टी व्यवहारमै लागू गरिनुपर्नेमा जोड दिइएको छ । बाल हिंसा, बालविवाह र बालश्रम अन्त्यका लागि कानुनी तथा संस्थागत संयन्त्रको सुदृढीकरणलाई दलहरुले प्राथमिकता राख्नुपर्ने सोसाइटीले माग गरेको छ । यस्तै, संघीय संरचनामा बालमैत्री शासनको व्यवस्था माग गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा बालमैत्री नीति, योजना र बजेट सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता दलहरुले गर्नुपर्ने सोसाइटीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds