आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा स्याङ्जामा कडाइ गरिएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय, स्याङ्जाले एक सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सबै पक्षलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको हो ।
सूचनाअनुसार निर्वाचन आचारसंहिताको दफा ४ (घ) ले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, टिसर्ट, टोपी, मास्क, गम्छा, ब्याज, झोला, स्टिकर, लोगो, ट्याटुजस्ता कुनै पनि सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण तथा प्रदर्शन गर्न निषेध गरेको छ ।
यस्तै, दफा १३ (म) अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मितिभन्दा १७ दिनअघि अर्थात् फागुन ४ गतेदेखि मात्रै घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ ।
अनुगमन अधिकृतको कार्यालयका अनुसार जिल्लामा आचारसंहिता उल्लंघन भएको भन्दै विभिन्न माध्यमबाट १५ वटा उजुरी तथा गुनासो प्राप्त भएका छन् । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार विशेषगरी जनप्रतिनिधिहरूले आफ्नो पालिकाभित्र उम्मेदवारसँगै भोट माग्दै हिँडेको तथा उम्मेदवारहरूले पनि मतदाता भेटघाटकै क्रममा भोट मागेको, केही राजनीतिक दलले अनुमति नलिई दलको झण्डा प्रयोग गर्ने, निजी घरमा दलको झण्डा तथा चुनाव चिन्ह अंकित तोरण टाँस्ने र सार्वजनिक कार्यक्रममा राजनीतिक अभिव्यक्ति दिने जस्ता गतिविधि गरेको उजुरी परेका छन् ।
यसैबीच, ती उजुरीमाथि आवश्यक अनुसन्धान तथा अनुगमन कार्य निरन्तर भइरहेको र निर्वाचन आचारसंहिता अनुसार कारबाही प्रक्रिया अघि बढाइएको निर्वाचन अनुगमन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ ।
उजुरी परेपछि दुई नगरपालिकाका प्रमुखसँग स्पष्टीकरण समेत सोधिएको सुवेदीले जानकारी दिए । उनले आचारसंहिता विपरीतका गतिविधि नगर्न सबै राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिलाई पुनः सचेत गराइएको बताए ।
सूचनामा आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ । निर्वाचनलाई मर्यादित र विश्वासिलो बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको सुवेदीको भनाइ छ ।
तर, आयोगको कडाइका बीच पनि स्याङ्जामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू घरदैलो अभियानमै व्यस्त देखिएका छन् । अन्तिम नामावली सार्वजनिक भई चुनाव चिन्ह पाएसँगै दलका तथा स्वतन्त्र उम्मेदवारहरू निर्वाचन चिन्ह अंकित झण्डा, ब्याज, स्टिकर र लोगो सहित मतदाता भेटघाटमा जुटेको देखिन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो