पोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुलस्थित काठमाडौं बेकरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
म्याद गुज्रेका तथा लेबलविहीन खाद्य सामग्री प्रयोग गरेको पुष्टि भएपछि बुधबार प्रशासनले जरिवाना गरेको हो । जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा बैंकमार्फत दाखिला भइसकेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीकोद्वय चित्रांगत बराल र शिव लम्सालको नेतृत्वमा मंगलबार साँझ भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजन श्रेष्ठ, खाद्य अधिकृत दीपक कुँवर र अशोक गौतम सहभागी थिए ।
अनुगमनका क्रममा बिक्री कक्ष, उत्पादन कक्ष र भण्डारण स्थल निरीक्षण गर्दा म्याद गुज्रेका केही कच्चा पदार्थहरू फेला परेका थिए । साथै, लेबलिङ, ब्याच नम्बर, उत्पादन मिति र प्रयोग योग्य मिति उल्लेख नभएका सामग्रीहरू पनि भेटिएको थियो । पसलमा पर्याप्त सरसफाइ नभएको, मूल्य सूची नराखिएको तथा खरिद–बिक्रीका बिल वा विजक उपलब्ध गराउन नसकिएकोसमेत पाइएको थियो ।
टोलीले मंगलबार अनुगमनकै क्रममा म्याद गुज्रेका तथा विवरण नखुलेका खाद्यान्न सामग्री नियन्त्रणमा लिई तत्काल नष्ट गरेको थियो ।
माघ २४ गते साँझ काठमाडौं बेकरीबाट केक खाएका २५ जना उपभोक्ता केक खाएपछि बिरामी परेका गुनासो आएपछि प्रशासनले अनुगमन गरेको थियो । जन्मदिनको कार्यक्रममा प्रयोग गरिएको केक खाएपछि एकै परिवारका २५ जना बिरामी परेका थिए । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ । तिनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
अधिकांशमा वान्ता, पखाला र पेट दुख्ने समस्या देखिएको थियो भने एकजनाको अवस्था गम्भीर भई सघन उपचार कक्षमा उपचार गर्नुपरेको थियो । अनुगमनका क्रममा ५ सय ग्रामका मिक्स फ्रुट र विभिन्न फ्लेभर, ५ सय ग्राम नर्मदा कलर (अखाद्य रङ), ५ केजी कोको पाउडर, बेकिङ पाउडर लगायतका सामग्री म्याद गुज्रेको अवस्थामा भेटिएको थियो । उत्पादन कक्षमा सरसफाइ कमजोर रहेको, मापदण्डविपरीत कालो प्लास्टिक प्रयोग गरिएको तथा अखाद्य रङ मिसाइएको भेटेपछि सञ्चालकलाई जिल्ला प्रशासनले बुधबार हाजिर हुन भनेको थियो ।
जिल्ला प्रशासन कार्यालयको इजलासले बुधबार सञ्चालक रोशन महर्जनलाई जरिवाना गरेको हो । मंगलबार सञ्चालक महर्जनले केही म्याद गुज्रेका सामग्री भेटिएको स्वीकार गरेका थिए । आगामी दिनमा थप सचेत रहने प्रतिबद्धता पनि उनले जनाएका थिए । यद्यपि बुधबार जिल्ला प्रशासनको इजलासले उनलाई जरिवाना तोकेको हो । सिडिओ कार्यालयले खाद्य तथा अखाद्य सामग्री प्रयोग गरी उत्पादन तथा बिक्री वितरण गर्ने जो कसैलाई कारबाही हुने जनाएको छ ।

सम्बन्धित खबर
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड खेल्ने
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
विष्णु र रामजीलाई पत्रकारिता सम्मान–पुरस्कार अर्पण
यो पनि पढौँ
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ