पोखराको अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्र्याएको छ। ६ वटा बस पर्यटन कम्पनी स्विफ्ट होलिडेज प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो ।
बतास कमर्सियल भेईकल्स प्रालिका लागि गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनको अधिकृत विक्रेताका रुपमा कार्यरत अटोवेजले गण्डकी प्रदेशमा पहिलो पटक भित्र्याएको अत्याधुनिक गाडी पोखराको स्वीफ्ट होलिडेले खरिद गरेको हो ।

कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले स्विफ्ट होलिडेज प्रालिका प्रबन्धक निर्देशक मिलन नेपाललाई साँचो हस्तान्तरण गरे। पोखरा–काठमाडौं–पोखरा सहित पोखराबाट चितवन र लुम्बिनीसम्म पनि यी गाडी चाँडै सञ्चालनमा आउने संचालकले बताएका छन्।
यूरो–६ मापदण्डको यस गाडी वातावरणमैत्री रहेको अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए। युरो सिक्स मापदण्डका यी सवारी साधनले कम उत्सर्जन, उन्नत इन्जिन प्रविधि र उच्च सुरक्षा सुविधा प्रदान गर्ने भएकाले नेपालको वातावरणमैत्री यातायातमा महत्त्वपूर्ण कदम भएको अटोवेजका अध्यक्ष पौडेलले बताए ।
अध्यक्ष पौडेलले युरो सिक्स मापदण्डको भोल्भो आइसर लक्जरी बसको सेवाले गण्डकी प्रदेशको पर्यटन सेवामा नयाँ आयाम थपिने बताए ।

यसले गुणस्तरीय पर्यटनमा टेवा पुग्ने भन्दै उनले भने, ‘अहिले पोखरा–काठमाडौंको यात्रा असुरक्षित महसुस भइरहेको छ। तर यूरो–६ मापदण्डको यस गाडी अझ सुरक्षित हुन्छन। जसले काठमाडौं–पोखराको यात्रा आरामदायी र सुरक्षित बनाउनेछ भन्नेमा हामी विश्वस्त छौं।’ ४० सिटको यस गाडीले पोखरा–काठमाडौंको यात्रा समय घटाउने दाबी उनले गरे। उनका अनुसार ५ घण्टामै पोखराबाट काठमाडौं पुर्याउनेछ।
प्रतिबस १ करोड २६ लाख रुपैयाँ मूल्य पर्ने यूरो–६ मापदण्डको ६ वटा गाडी स्वीफ्ट होलिडेजले खरिद गरेर पोखरा–काठमाडौं सञ्चालन गर्न लागेको उनले बताए। नेपाल भित्राउँदा राज्यले २० प्रतिशत कर छुट दिएको अध्यक्ष पौडेलले जानकारी दिए।
अध्यक्ष पौडेलका अनुसार राज्यले बनाएको नीति अनुसार १० वर्षसम्म बिक्री गर्न नपाउने र ४० सिटको मापदण्डमा रहेर बस नेपालमा भित्राइएको हो ।

‘दश वर्षसम्म अरुलाई बेच्न नदिने शर्तमा हामीलाई छुट दिइएको हो,’ उनले भने। पाएको छुटका आधारमा यात्रुलाई पनि सहुलियत प्रदान गर्न भाडादर सस्तो गरिएको उनको भनाई छ। उनका अनुसार यूरो–६ मापदण्ड अनुसार करिब २ हजार पर्ने भाडालाई सहुलियतमा हाल १ हजार २ सयमा सेवा दिन लागिएको उनले बताए।
स्वीफ्ट होलिडेजका प्रबन्धक निर्देशक मिलन नेपालले यात्रुको सुविधाका लागि यूरो–६ मापदण्डको गाडी भित्र्याएको बताए। ‘यसले यात्रा आरामदायीसँगै सुरक्षित बनाउँछ,’ उनले भने । कम्पनीले चाँडै पोखरा–चितवन, पोखरा–लुम्बिनीमा समेत दीवा तथा रात्रीकालीन सेवा सञ्चालन गर्ने जनाएको छ।

स्विफ्ट होलिडेजका प्रबन्धक निर्देशक नेपालले कम्पनीको आठौं वर्षको अवसरमा यो बस भित्र्याएको जानकारी दिए । सन् २०१८ देखि काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सेवा दिँदै आएको यस कम्पनीले अब दिवा र रात्रिकालीन सेवा विस्तार गर्ने योजना बनाएको छ । हाल करिब ४० वटा सवारी साधन सञ्चालन गर्दै आएको कम्पनीको फ्लिटमा टोयोटा कोस्टर, टोयोटा हायस, अशोक लेल्यान्ड र टाटा मोटर्सका सवारी साधन समेत रहेका छन् ।




सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो