पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा

असन्तुष्टि

पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा

उचित व्यवस्थापनविना उठिबास लगाए प्रतिकार

pokhara sukumbasi

पोखरा महानगरपालिकाले सार्वजनिक ऐलानी र पर्ती जग्गामा रहेका संरचना खाली गर्न ३५ दिने सूचना जारी गरेपछि पोखराका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका छन् ।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै महानगरको निर्णय विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरुङले सरकारले सुकुम्बासीलाई अन्यय पूर्णतरिकाले हटाउने खोजेको बताए । ‘हाम्रा जायज मागहरूलाई सरकारले वेवास्ता गरे र उचित विकल्पविना बल प्रयोग गरे हामी मर्न तयार छौं, तर आफ्नो थातथलो छोड्ने छैनौं। यो लडाईं गाँस, बास र कपासको मात्र नभई आत्मसम्मानको पनि हो,’ उनले भने ।

समितिका सहसंयोजक रमेश बलकोटीले पोखरा महानगरपालिकाले विकास र सुशासनको नाममा सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिए । महानगरभित्र हजारौंको संख्यामा रहेका भूमिहीनहरूको उचित व्यवस्थापन नगरी चालिएको यो कदमले पोखरामा सामाजिक र राजनीतिक मुठभेड निम्त्याउन उनको भनाइ छ ।

महानगर कार्यपालिकाको सार्वजनिक जग्गामा बिना अनुमति निर्माण गरिएका संरचना ३५ दिनभित्र आफैं हटाउन सूचना जारी गरेको थियो । उक्त सूचनाले दशकौंदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले उचित व्यवस्थापन बिना उठिबास लगाए संघर्ष गर्ने घोषणा गरेका हुन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका पदाधिकारीहरूले काठमाडौं लगायतका क्षेत्रमा सरकारले डोजर आतंक मच्चाएको आरोप लगाएका छन् । काठमाडौंका विभिन्न नदी किनारमा रहेका ४ हजार भन्दा बढी घरटहराहरू उचित विकल्प र व्यवस्थापनविना नै भत्काइएको सन्दर्भ उल्लेख गर्दै संघर्ष समितिले पोखरामा पनि त्यस्तै नियति दोहोरिए संघर्ष गर्ने भन्दै आन्दोलनको घोषणा गरेका हुन् । ‘सरकारले सुरक्षा र जोखिम क्षेत्र पहिचानको बहानामा भूमिहीनहरूको उठीबास लगाउन खोजेको छ,’ उनीहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभरका करिब ५० लाख भूमिहीन, सुकुम्बासी, गुठी पीडित र सुकुम्बासीहरू अहिले आफ्नो न्यूनतम आवासको हक खोजिरहेका छन्, तर सरकार उनीहरूको मानवाधिकार हनन गर्न उद्यत देखिएको छ ।’

संघर्ष समितिले सरकारको १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ९१ तर्फ ध्यानाकर्षण गराउँदै भूमिहीन र अव्यवस्थित बसोबासीहरूको डिजिटल प्रमाणीकरण र सत्य तथ्य गर्ने कार्य ६० दिनभित्र सक्नुपर्ने प्रावधान रहेको स्मरण गराएको छ । स्थानीय सरकार, भूमि आयोग, मालपोत र नापी कार्यालयको समन्वयमा काम हुनुपर्नेमा उल्टै उठिबास लगाउने निर्णय हुनु दुःखद भएको समितिले जनाएको छ । उनीहरुले बैशाख २१ गते बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि सहिद चोकमा भेला भई प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउने कार्यतालिका छ ।

बैशाख २१ गते ज्ञापनपत्र बुझाएपछि सहिद चोकबाट रत्नचोक, सृजनाचोक, पृथ्वीचोक हुँदै नयाँबजारस्थित पोखरा महानगरपालिकाको कार्यालय पुगेर महानगर प्रमुख (मेयर) लाई ज्ञापनपत्र बुझाउने कार्यतालिका छ । त्यसलगत्तै कोणसभा गर्ने भनिएको छ । ¥यालीको समापन पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत हुनेछ । बैशाख २३ गते संघर्ष समितिको बैठक बसी थप कडा आन्दोलनका कार्यक्रमहरू तय उनीहरुले चेतावनी दिएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ