बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ

Arjun Chaupari’s sarcastic reply to MP Regmi-11

सांसद धनञ्जय रेग्मीले संघीय संसदमा उठाएको शिक्षक सरुवासम्बन्धी अभिव्यक्तिप्रति अर्जुनचौपारी गाउँपालिकाले कडा प्रतिक्रिया जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा सांसद रेग्मीको भनाइप्रति व्यंग्यात्मक शैलीमा जवाफ दिँदै “बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन” भन्ने उखानसमेत प्रयोग गरिएको छ ।

प्रतिनिधि सभामा सांसद रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा “केही आस्थाका भरमा शिक्षकहरूको जथाभावी सरुवा गरिएको” भन्दै टिप्पणी गरेका थिए । त्यसको जवाफमा गाउँपालिकाले आफूहरूको “आस्था” विद्यार्थीको भविष्य, शिक्षा सुधार र पारदर्शी शैक्षिक सुशासनप्रति रहेको उल्लेख गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिकाले शिक्षक सरुवा संविधानले दिएको अधिकारभित्र रहेर आवश्यकता र नीतिका आधारमा गरिएको दाबी गरेको छ । “यदि माननीयज्यूको पार्टीमा आस्था राख्ने शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने हो भने नाम पठाइदिनुस्, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्न गाउँपालिका हरसम्भव प्रयास गर्नेछ,” पत्रमा व्यंग्य गर्दै उल्लेख गरिएको छ ।

गाउँपालिकाले सांसद रेग्मी विकास निर्माण, पूर्वाधार र जनताका अन्य समस्याभन्दा शिक्षक सरुवाको विषयमा बढी केन्द्रित भएको आरोप पनि लगाएको छ । “हजारौं विकासका समस्याभन्दा कानुनसम्मत सरुवाको चिन्ता प्रमुख देखिँदा स्याङ्जा क्षेत्र नं. १ ले भोलि ठूलो मूल्य चुकाउनुपर्ने हो कि भन्ने आशंका भएको छ,” पत्रमा भनिएको छ ।

त्यसैगरी गाउँपालिकाले सांसद रेग्मीलाई सरुवाको प्रक्रिया र मापदण्डबारे जानकारी लिन आफ्नै पार्टी नेतृत्वको सामान्य प्रशासन मन्त्रालयसँग बुझ्न सुझाव दिएको छ । साथै शिक्षक सरुवाको विषयभन्दा समग्र शिक्षा क्षेत्रका समस्या र शिक्षकहरूले भोगिरहेका चुनौतीबारे संसदमा आवाज उठाउन आग्रह गरिएको छ ।

पत्रको अन्त्यमा गाउँपालिकाले कुनै दिन अर्जुनचौपारी आएर नागरिकका वास्तविक समस्या बुझ्न र छलफल गर्न सांसद रेग्मीलाई निम्तोसमेत दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ