फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

मौरी जोगिए कृषि र जीवन दुवै सुरक्षित रहन्छ : मन्त्री कार्की

phedikhola-bee-day-2083

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरीपालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार र कृषि व्यवसायीकरणसँग जोड्दै अघि बढाएको अभियानले किसानको आयआर्जनमा टेवा पुर्‍याउन थालेको छ ।

पालिकाले सञ्चालन गरेका मौरीपालन पाठशाला, अनुदान कार्यक्रम र प्राविधिक सहयोगका कारण मौरीपालन व्यवसाय विस्तार हुँदै गएको छ ।

“मौरी संरक्षण र जैविक विविधता, कृषकको आवद्धता समृद्ध फेदीखोलाको प्रतिबद्धता” भन्ने मूल नारासहित बिहीबार फेदीखोला गाउँपालिका–१ कुभिण्डेमा आयोजित प्रथम फेदीखोला मौरी दिवस तथा कृषक पाठशाला समापन कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मौरी संरक्षणलाई मानव जीवन, कृषि उत्पादन र वातावरणीय सन्तुलनसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए ।

मन्त्री कार्कीले मौरीको संख्या घट्दै गए खाद्य प्रणाली र जैविक विविधतामा गम्भीर असर पर्ने उल्लेख गर्दै मौरीमैत्री वातावरण निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए । उनले मौरीलाई कृषि उत्पादन र वातावरणीय सन्तुलनको आधारस्तम्भको संज्ञा दिँदै व्यावसायिक मौरीपालन वर्तमान आवश्यकता भएको धारणा राखे ।

मौरीबाट मह मात्र नभई रोयल जेली जस्ता उच्च मूल्यका उत्पादन लिन सकिने भएकाले किसानले व्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । कृषकलाई सम्मानित पेशाकर्मीका रूपमा स्थापित गर्न प्रदेश सरकारले कृषि एम्बुलेन्स, रिटर्न टु भिलेज, उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, बाँझो जग्गामा खेती अनुदान र भूमि बैंकजस्ता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै फेदीखोला गाउँपालिकाले किसानका लागि सञ्चालन गरेका कार्यक्रमहरू उदाहरणीय रहेको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलामा मौरीपालनलाई सामूहिक र व्यवस्थित रूपमा विस्तार गरिएको जानकारी दिए । उनले मौरीपालनलाई फेदीखोलाको पहिचानका रूपमा विकास गर्ने लक्ष्यसहित आगामी दिनमा पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए ।

अध्यक्ष सुवेदीका अनुसार पालिकाभित्र एक फेदीखोला सेरेना मौरीपालन कृषक समूह र तीन वटा मौरीपालन आईपीएम कृषक पाठशाला सञ्चालनमा छन् । हाल समूहका २४ सदस्यसँग ७ सय ८५ घार मौरी रहेका छन् भने अन्य कृषकसहित पालिकाभर दुई हजारभन्दा बढी मौरीघार सञ्चालनमा छन् । पालिकाले एक हजार मौरीघार ७० प्रतिशत अनुदानमा वितरण गरेको छ भने करिब ७५ प्रतिशत कृषकले घरमै मौरीपालन गरिरहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतले मौरीपालनले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने धारणा राखेका थिए ।

दिवसका अवसरमा प्रगतिशील मौरीपालन आईपीएम कृषक पाठशाला र जनजागरण मौरीपालन आईपीएम कृषक पाठशालामा सहभागी ६३ जना कृषकलाई प्रमाणपत्र वितरण गरिएको थियो । गाउँपालिकाको उद्यम विकास शाखाबाट सञ्चालित आधारभूत मौरीपालन तालिम पूरा गरेका २० जना कृषकलाई प्रमाणपत्रसहित प्रति व्यक्ति दुई/दुई वटा मौरीसहितको घार प्रदान गरिएको थियो ।

यस्तै स्वस्थ रानी उत्पादन (क्विन ग्राफ्टिङ) तालिम पूरा गरेका २१ जना कृषक तथा “एक विद्यालय, एक उद्यम” कार्यक्रमअन्तर्गत मौरीपालन अभिमुखीकरण तालिममा सहभागी १० जना शिक्षकलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित मौरीसम्बन्धी चित्रकला प्रतियोगितामा उत्कृष्ट भएका ६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साथै मौरीपालन क्षेत्रमा योगदान पुर्‍याएका कृषक, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

मौरीका लागि आवश्यक चरन क्षेत्र विस्तार गर्ने उद्देश्यले एक हजार चिउरी, चार सय कल्की र ४५ वटा राजवृक्षका बिरुवा कृषकलाई वितरण गरिएको थियो । यी बहुवर्षीय पुष्पीय वनस्पतिले मौरीपालन व्यवसायको दिगोपनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गाउँपालिकाले लिएको छ ।

कार्यक्रममा स्थानीय कृषकले उत्पादन गरेको शुद्ध मह तथा कृषि उपजको प्रदर्शनीसमेत गरिएको थियो । फेदीखोला सेरेना मौरीपालन कृषक समूहका अनुसार प्रदर्शनीकै दिन करिब चार लाख रुपैयाँ बराबरको शुद्ध सेरेना मह बिक्री भएको थियो । साथै करिब १० हजार रुपैयाँ बराबरको ताजा साग र पाँच हजार रुपैयाँ बराबरको हरियो काक्रो बिक्री भएको थियो ।

क्यूआर कोड र डिजिटल प्रणालीबाट मौरीघारको निगरानी
फेदीखोला गाउँपालिकाले मौरीपालनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणालीमार्फत मौरीघारको निगरानी समेत सुरु गरेको छ । कार्यक्रमकै अवसरमा आधुनिक प्रविधिमा आधारित ‘अनलाइन बी हाइभ मोनिटरिङ सफ्टवेयर’ सार्वजनिक गरिएको हो ।

पालिकाले ७० प्रतिशत अनुदानमा वितरण गरेका मौरीघारमा क्यूआर कोड जडान गरी अनलाइन माध्यमबाट अनुगमन गर्ने व्यवस्था मिलाएको छ । आँधीखोला गाउँपालिकाका मदन पौडेलले विकास गरेको ‘भूमि सेवा नेटवर्क’ (वी डट भूमि डट अर्थ) प्रणालीमार्फत मौरीघारको अवस्था, स्थान, उत्पादन तथा व्यवस्थापनसम्बन्धी जानकारी संकलन गरिँदै आएको अध्यक्ष सुवेदीले बताए ।

कृषकले मोबाइलबाट पठाएका तस्वीर तथा क्यूआर कोडमा आधारित विवरणका आधारमा मौरीघारको अवस्था, रोगको जोखिम, उत्पादनको स्थिति र व्यवस्थापनको आवश्यकता पहिचान गर्न सकिने व्यवस्था गरिएको छ । यसले अनुदानका सामग्रीको प्रभावकारिता मूल्याङ्कन गर्न र समयमै प्राविधिक सहयोग उपलब्ध गराउन सहज भएको गाउँपालिकाको भनाइ छ ।

उत्पादनको अवस्था, गोला विस्तार गर्ने समय, रोग व्यवस्थापन तथा मौरीघारको नियमित निगरानीमा डिजिटल प्रणाली उपयोगी बनेको छ । मौरीपालन क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन वृद्धि र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको हो ।

गाउँपालिकाका अनुसार स्थानीय तह स्तरमै मौरी दिवस आयोजना गर्ने सम्भवतः फेदीखोला पहिलो पालिका हो । मौरी संरक्षणप्रति जनचेतना बढाउनुका साथै किसानलाई व्यावसायिक मौरीपालनतर्फ प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले फेदीखोलालाई मौरीपालनको नमुना केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ